• १४ मंसिर २०८१, शुक्रबार

जनश्रमदानमार्फत रोपिएका फूलले ढकमक्क भयो मझुवागढी क्षेत्र

blog

जनश्रमदानमार्फत रोपिएका फूलले ढकमक्क मझुवागढी क्षेत्रसँगै दिक्तेल बजार । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, कात्तिक १५ गते ।
जनश्रमदानमार्फत रोपिएका फूलले खोटाङको ऐतिहासिक स्थल मझुवागढी क्षेत्र ढकमक्क भएको छ । फूलले ढकमक्क भएपछि धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रमा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालेको छ । 

किरातको ऐतिहासिकस्थल मझुवागढी, प्रसिद्ध कालिका भगवती मन्दिर, दुद्येश्वर गुफा लगायतको धार्मिक तथा पर्यटकीय स्थल रहेको उक्त क्षेत्रमा जान फलामे रेलिङ निर्माण गरिएको छ । दिक्तेल बजारस्थित हाडडाँडाबाट उक्त क्षेत्र पुग्न हिडेर करिब ४५ मिटेन लाग्छ । माथिसम्म पुग्न जाने फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । सोही पदमार्गको दायाँबायाँ रोपिएका फूलहरु फुलेर यतिबेला ढकमक्क भएका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले “फूलको पहाड” बनाउने अभियान अन्तरगत केही समय अघि करिब १५ हजार फूलका बिरुवाहरु जनश्रमदानमार्फत रोपिएका थिए । जनश्रमदानमार्फत रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत प्रजातिका फूलहरु अहिले फुलेर ढकमक्क भएका छन् । 

फूलले डाँडा ढकमक्क भएपछि अहिले आन्तरिक पर्यटक पनि बढेका छन् । प्रत्येक दिन २५० को हाराहारीमा अहिले आन्तरिक पर्यटकहरु दर्शन गर्न तथा घुम्न मझुवागढी क्षेत्र पुग्ने गरेको मन्दिरका पुजारी धनप्रसाद मिश्रले बताउनुभयो । बिहान १० बजेसम्म मन्दिर तथा गुफाको दर्शन गर्न प्रायः मानिसहरु जाने गरेका छन् । तर हाल ढकमक्क भएको फूलको कारण दिनैभरी मानिसहरु घुम्न आउने गरेको उहाँको भनाइ छ ।

करिब ६ वर्षपछि मझुवागढी आइपुग्नु भएका मोरङ विराटनगरका सिताराम श्रेष्ठका अहिले उक्त क्षेत्र धेरै परिवर्तन भएको बताउनुहुन्छ । पहिले हिँड्ने बाटोसम्म राम्रो नभएको ठाउँमा अहिले फलामे रेलिङसहितको पदमार्ग निर्माण भएर वरिपरि फूल देख्दा आनन्द महसुस भएको उहाँको भनाइ छ ।

चारैतिर देखिने अग्लो डाँडा रहेको त्यसक्षेत्रमा सबैतिरका दृश्य अवलोकन गर्न, पिक्निक खान, अध्ययन भ्रमण गर्न मानिसहरु जाने गर्छन । यस्तै, कालिका भगवतीको भाकल पूरा गर्न दैनिकजसो जिल्लाका विभिन्न ठाउँका मानिसहरु आउने गरेका छन् । अहिले त धेरै जसो फोटो खिच्न, टिकटक भिडियो बनाउन त्यो ठाउँमा मानिसहरु पुग्ने गरेका छन् ।

यस ठाउँ अर्थात् मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सङ्कल्प छ । सोही अनुसार जनश्रमदानमार्फत फूलका बिरुवाहरु पनि रोपिए । अहिले फूल पनि ढकमक्क भएर फूलेका छन् । तर धेरै जसो सयपत्री फूल रहेको कारण यस क्षेत्रलाई सदाबहार सुन्दर बनाउन अन्य प्रजातिका फूलहरु पनि रोप्न र जगेर्ना गर्न आवश्यक रहेको त्यहाँ पुग्नेहरु बताउछन् । अन्य विभिन्न प्रजातिका फूलहरु पनि जनश्रमदानबाट रोपिएका थिए । तर थोरै मात्रमा मात्र अहिले सयपत्रि बाहेक अन्य प्रजातिका फूल फुलेको देख्न सकिन्छ ।

मझुवागढी क्षेत्रमा एक पटक घुम्न आउनैपर्ने स्थान निर्माणको अभियानमा फूलको पहाड निर्माण गर्न सुरु गरिएको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बताउनुहुन्छ । बहुवर्षे योजना अनुसार त्यस क्षेत्रलाई फूलको पहाड बनाउने अभियानमा नगरपालिका रहेको उहाँको भनाइ छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले मझुवागढी क्षेत्रको सौन्दर्यकरण लागि एक करोड ५३ लाख बजेट पनि विनियोजन गरेको छ । डिपिआर निमार्ण गरेर विनियोजित उक्त बजेटबाट त्यस क्षेत्रको सौन्दर्य गरिने नगरपालिकाले जनाएको छ ।