• २२ असार २०८१, शनिबार

तीन करोड लागतमा निर्मित रामायण भवन प्रयोगमा नआउँदै भत्किन थाल्यो

blog

संरक्षण हुन नसकेको रामायण भवन । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १५ गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थानलाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै भत्किन थालेको छ ।  भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बनेकाले भत्किन थालेको हो । प्रयोगमा नआउँदै  भत्किन थाले पनि  संरक्षणको लागि ध्यान पुगेको छैन ।

तीन  वर्ष अघि निर्माण पूरा भएको उक्त भवन उपयोगविहीन हुँदा अलपत्र र जीर्ण बन्दै गएको छ । करिब पौने तीन करोड लागतमा निर्माण गरिएको भवन प्रयोगमा नआउँदा ताला लगाएर राख्नुपर्दा संरचना कमजोर बन्दै गएको हो । झ्याल ढोकामा राखिएका सिसा फुट्न थालेका छन्, काठलाई धमिराले खान थालेको छ । आफ्नो पालिकाभित्रको साहित्यिक स्थल भएकाले चासो देखाए जस्तो गरे पनि यसको संरक्षणबाट नगरपालिका पन्छिने गरेको स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा भवनका समान चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र गफिने स्थल जस्तै बन्दै गएकोमा दुःख लागेका सोही ठाउँ निवासी पम्फा परियारले बताउनुभयो । सडक खराब भएकोले घुम्न आउने पर्यटक र स्थानीय बासिन्दालाई पैदल हिँड्नुपर्ने भएकोले असुविधा भएको परियार बताउनुहुन्छ । भानुभक्त सम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवर्द्धन र प्रचारका उद्देश्यका साथ स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समिति, स्थानीय निकाय र राज्यले भाषिक एकताका प्रणेता भानुभक्त जन्मस्थानप्रति गरेको बेवास्ताले गर्दा रामायण भवन अलपत्र परेको स्थानीय बासिन्दा सन्देश आचार्यले बताउनुभयो ।  आचार्यले भन्नुभयो, भानु जन्मस्थल प्रति गरिएको हेय भाव, समग्र भानुको विकासमा दुरवस्था रहेको तितो यथार्थलाई चिर्न आवश्यक छ ।’’

 यथोचित  विकास र प्रचार प्रसारका लागि सम्बद्ध सबैको ध्यानाकर्षण हुनुपर्ने आचार्य बताउनुहुन्छ  । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा  आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रामायण भवन निर्माण गरेको हो । करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भए पनि हाल अलपत्र अवस्थामा छ । उक्त गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड छ । पर्यटकलाई थप आकर्षित गर्न आदिकविको १०० फिट अग्लो सालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना छ । चुँदीरम्घाबेंसीदेखि शिखरकटेरीसम्म पुग्ने धनञ्जय मोटर मार्ग स्तराेन्नति नहुँदा सवारी साधन सञ्चालन गर्न सकिएको छैन ।  

साहित्यिक कार्यक्रम गर्ने सभा हल, भवनको भित्तामा रामायणमा भएका श्लोकहरू, रामायणसँग सम्बन्धित तस्बिरहरू कुँदिने योजना छ । राष्ट्रिय विभूतिको स्मृतिमा निर्मित रामायण भवन अलपत्र हुँदा चुँदेलीहरु दुःखित भएका छन् । भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । रामायण भवन अलपत्र अवस्थामा देख्दा आँसु आएको भानु नगरपालिका–५ सेपाबगैंचा निवासी भरत पोख्रेलले बताउनुभयो ।  कलात्मक बुँदा कुँदेर बनाइएको काठलाई धमिराले खान थालेको देखेर दुःख लागेको पोख्रेल बताउनुहुन्छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष तथा साबिक भानु गाविसका अध्यक्ष ऋषिराम पन्तले संरक्षणको लागि प्रहरी चौकी राख्न माग राखिएको भए पनि सुनुवाइ नभएको बताउनुभयो । सुरक्षाकर्मीको व्यवस्था गर्न सके रामायण भवनको संरक्षण गर्न सकिने र भग्नावशेष बनेको भानुको घर पुनर्निर्माण गर्न सहज हुने पन्त बताउनुहुन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट नेपालीलाई एकतामा बाँध्नुभएको थियो  । वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रूपमा भानुभक्त जन्मिनुभएको थियो  । उहाँले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गर्नुभएको थियो । भानुभक्तले  लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा स्वर, लयका साथ पाठ गर्ने गरिन्छ । भानुभक्तका ‘प्रश्नोत्तर’ ९१९१००, ‘भक्तमाला’ (१९१०) ‘वधू शिक्षा’ (१९१९), ‘राम गीता’ (१९२५) तथा दर्जनौँ साहित्यिक कृति  प्रकाशित छन् । जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ । भानुभक्तको विसं १९२५ असोज ६ गते चुँदीरम्घामा नै निधन भएको थियो ।