• १५ मंसिर २०८१, शनिबार

व्यावसायिक फूल खेतीबाट मनग्य आम्दानी

blog

कावासोती –९ मा गरिएको व्यावसायिक फूल खेती । तस्विर : मीना कंडेल

मीना कंडेल

कावासोती, कात्तिक १३ गते । प्राकृतिक फूलको आयात कम गर्न नवलपुर जिल्लामा व्यावसायिक फूल खेती सुरु गरिएको छ । तिहार आउन दुई साता बाँकी हुदाँ बगैँचामा फुलेको फूलले छुट्टै रौनक बढाएको छ ।    

तिहारलाई सप्तरंगी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा मान्ने गरिन्छ । नवलपुरका विभिन्न ठाउँमा व्यावसायिक फूलखेती गरिएको हुनाले प्राकृतिक मालाको व्यापार पनि राम्रो हुने व्यापारीहरुको भनाइ छ । पछिल्लो समय हजारी, मखमली, गुरधौलीजस्ता फूलको उत्पादनसँगै जिल्लामा तिहारका लागि महत्वपूर्ण मानिने सयपत्री फूलको विक्री गर्न सुरु गरिएको छ ।

कावासोतीका ६८ वर्र्षीया विष्णु पोख्रेलको दैनिकी अहिले फूल बगैचामा बित्नेगरेको छ । पोख्रेल हरेक दिन बगैचामा फूलको हेरचाह गर्ने काममा व्यस्त रहनुभएको छ । व्यावसायिक फूल खेती गर्नुभएका पोख्रेल ढल्किदो उमेरसँगै फूल खेती सुरु गरेपश्चात् दिनचर्या कटाउन सहज भएको बताउनुभयो । 

कावासोती –९ वाकडोरमा पोख्रेलले लगाएका सयपत्री फूल ढकमक्क फूलेका छन् । तिहारका लागि फूल तयार भएकाले बगैँचाबाट प्रतिमालाको एकसय ५० र प्रतिकिलो ६ सयका दरले लैजान सकिने उहाँले बताउनुभयो । 

बाँझो रहेको जमिनलाई भाडामा लिएर कावासोती पशुपंक्षी कृषि फर्म दर्ता गरी फूल खेती गरिएको पोख्रेलले बताउनुभयो । तिहारमा महत्वपूर्ण मानिने सयपत्री, अन्य फुलका साथै प्लाष्टिकका कृत्रिम मालाको आयात कम गर्न सामुहिक रुपमा फूल खेती सुरु गरेको कृषक पोख्रेलले बताउनुभयो ।

फर्ममा फूल फुलिसकेकाले माग आउन थालेको कृषक पोख्रेलले बताउनुभयो । ‘हामीले फर्ममा नेपाली र कर्मा (थाइल्याण्ड) प्रजातिका तीन हजार पाँचसय फूलका विरुवा लगाएका छौँ । उहाँले भन्नुभयो, ‘फूल बुकिङ्ग गर्न ब्यापारी, ग्राहकहरु घरमै आउँछन् ।’ 

८० हजारको लगानीमा गरिएको फूल खेतीबाट यो बर्ष फूल बिक्री गरेर पाँच लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।  फुल खेतीमा राम्रो सम्भावना भएकाले १६ कठ्ठा जग्गा भाडामा लिएर सामूहिक फूल खेती गरिएको उहाँले बताउनुभयो । 

तिहारका लागि भन्दै बर्षेनी करोडौं रुपियाँ बराबरको फूल भारतबाट आयात गरिन्छ । यद्यपि आफ्नै गाउँ ठाउँमा फूल खेती गरी आत्मनिर्भर बनाउन र आयातलाई कमी गर्न सामूहिक रुपमा फुल खेती सुरु गरेको बाबु केसीले बताउनुभयो । फूल विक्रीबाट भएको आम्दानी फूलखेती गर्दा लागेको लगानी कटाएर बाँकी सामाजिक काममा खर्च गर्ने योजना रहेको कसीले बताउनुभयो ।

जिल्लामा उत्पादित फूल स्थानीय बजार र गाउँघरमा नै खपत गर्दैआएको त्रिकन्या कृषि फर्म कावासोती ५ का सञ्चालक भेषराज गाहाले बताउनुभयो । सयपत्री मालाको माग बढेको उहाँको भनाइ छ ।

स्थानीय बजारका मागलाई मध्यनजर गर्दै कावासोती ७ की मिश्रा पराजुलीले तीन वर्षदेखि फूल उत्पादन गर्दै आउनुभएको छ । फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि उहाँले आफैले माला बनाएर बजार र घरबाटै बेच्ने गर्नुभएको छ । सानो थुङ्गा भए प्रतिमाला १३० र ठूला थुङ्गा भए प्रतिमाला १४० रुपियाँमा बेच्ने पराजुलीले बताउनुभयो । 

नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिले दश कठ्ठा जमिनमा व्यावसायिक फूल खेती गरेको छ । वनले व्यावसायिक फूल खेतीमा जोड दिँदै सहज बजारीकरण गरी यहाँका किसानलाई फूल खेतीतर्फ आकर्षित गर्न फूल खेती सुरु गरेको जनाएको छ । 

जिल्लामा उत्पादित फूल स्थानीय बजार र गाउँघरमा नै खपत गर्दैआएको नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टंकप्रसाद काफ्लेले बताउनुभयो । जिल्लाको कावासोती, देवचुली, हुप्सेकोट, गैँडाकोट लगायतका क्षेत्रमा लगाइएका फूल व्यवसायीको आम्दानीको स्रोत भएको व्यापारीको भनाइ छ ।