• ११ मंसिर २०८१, मङ्गलबार

पर्यटकका लागि पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था

blog

कञ्चनजङ्घा क्षेत्रमा व्यवस्था गरिएको पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिहरु । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १२ गते । 
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पर्यटकका लागि पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । कञ्चनजङ्घासहितका पर्यटकीय गन्तव्यको भ्रमणमा आउने पर्यटकका लागि गाउँपालिकाले आधार शिविर क्षेत्रमा पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरेको हो ।

कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी पोर्टेबल अक्सिजन सिलिन्डर र औषधिको व्यवस्था गरिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरहरू केबीसी, लोनाक, खम्बाचेन, घुन्सा, सेलेले साथै उच्च हिमाली बस्ती ओलाङ्चङगोला र याङ्मामा उक्त व्यवस्था गरिएको छ ।

उच्च क्षेत्रमा अक्सिजनको कमी हुने भएकाले पर्यटकलाई लेक लाग्ने (हाइ अल्टिच्युड) जोखिम बढी हुँदा सो समस्याबाट बच्नलाई पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरिएको हो । हाल गाउँपालिकाले सो व्यवस्था गरेसँगै कञ्चनजङ्घा क्षेत्रका भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई राहत पुगेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । उहाँकाअनुसार आवश्यक परेमा वा आपत्कालीन अवस्थामा तत्काल सजिलैसँग पोर्टेबल अक्सिजन सिलिन्डर प्रयोग गर्न सकिन्छ । 

अक्सिजनसँगै उच्च भेगमा चिसो र अक्सिजन कमीका कारण टाउको दुख्नेलगायत स्वास्थ्यमा देखा पर्ने समस्याको निदान गर्न वा स्वास्थ्यलाई सन्तुलन राख्नमा सहयोग पुग्नेखालका औषधिसमेतको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । कञ्चनजङ्घासहित जिल्लाका मुख्य पर्यटकीय गन्तव्यहरू फक्ताङ्लुङ गाउँपालिकामा पर्ने हुँदा पालिकाले पर्यटन प्रवर्द्धन साथै भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढाउने उद्देश्यले पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था मिलाएको जनाएको छ । 

यता दसैँ तिहारको मौसमसँगै आजभोलि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । हालसम्म साढे तीन सयको हाराहारीमा विदेशी पर्यटक मात्र भ्रमणमा आइसकेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चोकपोष्टका अनुसार कञ्चनजङ्घा भ्रमण गर्न विदेशी पर्यटकहरू आउने क्रम जारी रहेको छ । त्यस्तै आन्तरिक पर्यटकहरू पनि उल्लेख्य सङ्ख्यामा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आइरहेका घुन्सा चोकपोष्टले जनाएको छ ।