• १५ मंसिर २०८१, शनिबार

‘पर्यटक घुमाउने पथप्रदर्शक चाडपर्व बिर्सन्छन्’

blog

यदुप्रसाद भट्ट

मनाङ, कात्तिक १२ गते । दसैँ–तिहारको समय मनाङको तिलिचोलगायतका पर्यटकीय क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दैगएको छ । खुलेको मौसम र दसैँ–तिहारको लामो बिदाको समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा यो क्षेत्र पर्न गएको हो । 

दसैँ बिदामा गाउँघर जानुको सट्टा आम्दानी र रमाइलो दुवै हुने भएकाले युवायुवतीको रोजाइमा पर्यटन क्षेत्र परेको हो । गत साता प्रदीप कार्की काठमाडौँदेखि पाँच जनाको विदेशी पर्यटकको टोली लिएर मनाङका विभिन्न स्थानमा प्रस्थान गर्नुभयो । पर्यटक घुमाउन पाउँदा पथ प्रदर्शकहरू दसैँ तिहार पनि विर्सनेगरेका छन् ।  

प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालको दृश्य अवलोकन गर्न कार्कीको टोली मनाङ घुम्न आएको हो । उहाँले भन्नुभयो, ‘पेसाले म पथप्रदर्शक हुँ, पर्यटकीय सिजन पनि सुरु भएको र मौसमले पनि साथ दिएकाले मनाङको तिलिचो लगायतका क्षेत्रमा पर्यटकलाई घुमाउन आएको हुँ ।’ 

कार्कीको यो सिजनमा अधिक समय घुमफिरमै बित्नेगरेको छ । स्नातक सकेपछि बाबाले गर्दै आउनुभएको पेसा नै मन परेकाले एक दशकदेखि यही पेसामा लागिपरेको कार्कीले बताउनुभयो । हरेक वर्ष आफ्नो दसैँ–तिहार हिमालमै हुनेगरेको कार्कीले बताउनुभयो ।

अर्का पथप्रदर्शक दीपक अर्यालले यस वर्षको दसैँ हिमालतिर बिताउनुभयो । अर्याल फूलपातीको दिनदेखि एक टोली लिएर लमजुङ सदरमुकाम बेँसीसरहबाट मनाङ सदरमुकाम चामे हुँदै उपल्लो मनाङ क्षेत्र प्रवेश गर्नुभयो । 

अर्यालको टोली तिलिचो क्षेत्रमा तीन दिनसम्म घुमघाम गर्ने योजना बनाएर काठमाडौँबाट मनाङ आएको थियो । अर्यालको टोलीले पनि दसैँ हिमालमै बितायो । दुई हप्ता अगाडि तिलिचो तालमा वाइफाई जडान भएपछि सो क्षेत्र घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्दैगएको छ । 

दसैँको समयमा बाह्य पर्यटकको चहलपहल बढी भएको पर्यटन व्यवसायी एवम् होटल याक एन्ड यतीका सञ्चालक विनोद गुरुङले बताउनुभयो । उहाँले विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकन गर्न आउने बाह्य पर्यटकको चाप बढेकाले पर्यटन व्यवसायी उत्साहित भएको बताउनुभयो । कोरोनापछि यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको गुरुङले बताउनुभयो ।

मनाङ प्रवेशद्वारका रूपमा रहेको च्याम्चेबाट दैनिक दुई सयका दरले आन्तरिक पर्यटक मनाङ घुम्न आउनेगरेको होटल व्यवसायी एवं समाजसेवी बाबुराम तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘च्याम्चे पनि एक पर्यटकीय स्थल हो । यसको पारिपट्टि सुन्दर झरना छन्, यही झर्ना हेरेर पर्यटक मक्ख पर्छन् ।’

दसैँका बेला घुम्न रमाउने आन्तरिक पर्यटकको रोजाइमा मनाङ पनि परेको छ । बाह्य पर्यटकका लागि शुल्क तिर्नुपर्ने तथा चेकपोस्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नुपरे पनि आन्तरिक पर्यटकलाई छुट भएकाले कति आन्तरिक पर्यटक मनाङ आएर अवलोकन गरे भन्ने तथ्याङ्क अहिलेसम्म कसैसँग छैन । प्रत्येक वर्ष मनाङमा आन्तरिक पर्यटकको आगमन बढ्दैगएको पर्यटन व्यवसायीको भनाइ छ ।

असोज, कात्तिक र मङ्सिर गरी तीन महिना अमेरिका, क्यानडा, कोरिया, जापान, फ्रान्स, जर्मनी, अस्ट्रेलिया लगायतका देशबाट बाह्य पर्यटक मनाङ घुम्न आउनेगर्छन् ।