• १२ मंसिर २०८१, बुधबार

विश्व पक्षघात दिवस

रत्नपार्कमा ग्राण्डी इन्टरनेशनल हस्पिटलको स्वास्थ्य शिविर

blog

विश्व पक्षघात दिवसका अवसरमा नेपाल पक्षघात सङ्घ र ग्राण्डी इन्टरनेशनल हस्पिटललगायतका अस्पतालले आयोजना गरेको स्वास्थ्य शिविर । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक १२ गते । आज विश्व पक्षघात दिवस । नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात सङ्घ र ग्राण्डी इन्टरनेशनल हस्पिटललगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुले जनचेतनामूलक कार्यक्रम गरेर मनाइएको हो ।

विश्व पक्षघात दिवसको अवसरमा आज काठमाडौंको रत्नपार्कमा जनचेतनामूलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको थियो । साथै ग्राण्डी इन्टरनेशनल अस्पतालले सो अवसरमा आज रत्नपार्कको शान्ति वाटिकामा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।


स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै ग्राण्डि इन्टरनेशनल हस्पिटलका न्युरोलोजिस्ट राजु पौडेलले पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेको र स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो । नेपाल पक्षघात संघका अध्यक्षसमेत रहनुभएका उहाँले पक्षघात धेरैजसो वृद्धहरुमा हुने भएकाले वर्षमा एकपटक पूर्णरुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बताउनु भयो । उहाँले बालबालिकामा पनि पक्षघातको समस्या बढ्दै गएकाले सचेत र सजग रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘जनचेतनाका लागि हामीले विभिन्न पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेका छौँ । यो कार्यक्रम देशभरका विभिन्न शहरमा गरेका छौँ । पक्षघात धेरैजसो बुढो उमेरमा हुन्छ, बालबालिकामा पनि समस्या देखिन्छ, कुनै पनि उमेरलाई छोड्दैन, तर यो धेरैजसो ६० वर्षपछि बढी देखिन्छ । मुटुको समस्या भएकालाई पक्षघातले असर गर्छ । हामीले चेकअप गरिरहनुपर्छ । बाहिरी खानेकुराहरु कम गर्दै जानुपर्छ । अचानक सन्तुलन बिग्रिने, बोली लर्बरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आए, साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिन्छ ।’’


उहाँले अचानक सन्तुलन बिग्रिने, बोली लर्बरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आउने जस्ता लक्षण देखिए लक्षण देखिएको साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिने बताउनुभयो ।