बर्दीबास समाचारदाता
बर्दीबास, कात्तिक १२ गते । बर्दीबासस्थित जिल्ला ट्राफिकले चाडपर्वलक्षित सुरक्षा अभियान सञ्चालन गरेको छ । यस क्रममा ट्राफिक कार्यालयले यात्रुको सर्वाधिक चाप हुने बर्दीबास, गौशाला रोड तथा जलेश्वरमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा दिँदै आएको छ । अभियान अन्तर्गत सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ९४४ सवारीमाथि कारबाही गरी २४ लाख ७५ हजार रुपियाँ राजस्व असुल गरेको जिल्ला ट्राफिक बर्दीबासले जनाएको छ ।
यात्रु सहायता कक्षमा सेवाग्राहीका बढ्दो गुनासो र परामर्शले सवारी नियमन गर्न सहज र प्रभावकारी भएको ट्राफिकको भनाइ छ । यात्रुको गुनासोका आधारमा तोकिएभन्दा बढी भाडा लिने काठमाडौँबाट फर्केका पाँच थान सवारीलाई कारबाही गरिएको बर्दीबासस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामभक्त भट्टराईले जनाउनुभयो ।
बिपी राजमार्गमा आकस्मिक चेकजाँच गर्दा काठमाडौँबाट बर्दीबास आउने यात्रुसँग हजार रुपियाँको ठाउँमा एक हजार चार सय रुपियाँ लिएको र काठमाडौँ–सिराहाको भाडा एक हजार तीन सय रुपियाँ लिनुपर्नेमा दुई हजार तीन सय रुपियाँ उठाएको खुल्न आएपछि त्यस्ता पाँच थान सवारीमाथि कारबाही गरिएको उहाँले बताउनुभयो ।
चाडपर्वका बेला विश्वसनीय सेवासुविधा र सहुलियत प्रदान गर्न ट्राफिक कार्यालयले सवारीचालकदेखि यात्रुसम्मलाई समेटेर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । फेरि पनि विवशता र समस्यामा परेका यात्रुहरूलाई काबुमा पारेर दुःख दिने, बढी भाडा असुल्ने जस्ता हर्कत गर्ने सवारीमाथि कारबाही गरिएको उहाँले जनाउनुभयो । “आकस्मिक चेकजाँचका क्रममा यस्ता समस्या र घटना पूर्वपश्चिम लोकमार्गको तुलनामा बिपी राजमार्गमा बढी पाइएको छ,” भट्टराईले भन्नुभयो ।