• १५ मंसिर २०८१, शनिबार

तीन सय घरघूरीलाई पिउने पानीको समस्या

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक १२ गते । म्याग्दी जिल्लाको सदरमुकाम बेनी नजिकै रहेको बेनी नगरपालिका–२, खबरा क्षेत्रका तीन सय घरधुरी पिउने पानीको अभावमा सधैँ काकाकुल जस्तै बन्ने गरेका छन् । सदरमुकाम बेनीसँगै जोडिएको वडा नं. २ को खबरा क्षेत्रमा पानीको व्यवस्थित स्रोत र वितरण हुने माध्यम नहुँदा समस्या हुने गरेको हो । 

बेनी नगरपालिका–२, लभ्लीहिलका चन्द्रबहादुर कार्कीले आफ्नो घरमा पिउने पानी ल्याउनका लागि मात्रै तीन लाखभन्दा बढी खर्चिनुभएको छ । एक घरले आफ्नो प्रयोगका लागि पानीको मुहान भएको जग्गा नै खरिद गरेर पानी ल्याएको उहाँको भनाइ छ । एक किलोमिटरभन्दा टाढाबाट आफ्नै लगानीमा पानी ल्याएको उहाँको भनाइ छ । बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर क्षेत्रीले बेनी नगरपालिका–२ को मुल्छरी भन्ने ठाउँमा पानीको मुहान भए पनि ल्याउन नसक्दा समस्या भएको बताउनुभयो । नगरपालिकामार्फत योजना त प¥यो तर इन्जिनियरिङको समस्या हो वा ठेकेदारको कारण हो, केही धारा बने पनि पानी भने नआएको उहाँको भनाइ छ । 

युवा व्यवसायी आनन्द रिजालले पनि रोटेपानी भन्ने ठाउँबाट एक हजार पाँच सय मिटर पानीको पाइप टाँगेर पानी ल्याउनुभएको छ । व्यावसायिक कृषिकर्ममा लागेका रिजालले आफूले पिउने र कुखुरा फार्मका लागि पाँच लाख रुपियाँभन्दा बढी रकम खर्चेर पानीको व्यवस्था गर्नुभएको छ । रिजाल भन्नुहुन्छ, “धेरै ठाउँमा ताकिता गरियो अनि धेरैलाई भनियो तर कतैबाट सुनुवाइ नभएपछि सदरमुकाम नजिकै भए पनि के गर्नु ? आफैँले लगानी गरेर पानीको व्यवस्था गरेँ ।” डिप बोरिङ गरेर पिउने पानी निकाल्न सकिने सम्भावना देखिएको भए पनि उचित योजना पर्न नसक्दा ठुलो बस्तीले पानीको समस्या बेहोर्नु परेको हो । सङ्घीय सरकारको विशेष अनुदान अन्तर्गतको बहुवर्षीय योजना अनुरूप खानेपानी एक घर एक धारा निर्माण थालिएको भए पनि ठेकेदारले सम्झौता अनुसार काम नगर्दा समस्या भएको बेनी नगरपालिकाका इन्जिनियर विमलरन्जन कार्कीले बनाउनुभयो । सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७७/७८ मा ९० लाख, त्यसपछिको वर्ष ४८ लाख र चालु आवमा ९० लाख रुपियाँ बजेट विशेष अनुदानमार्फत आएको थियो । पहिलो वर्षकै काम सम्पन्न हुन नसक्दा पिउने पानीबाट स्थानीय वञ्चित भएको उहाँको भनाइ छ ।