• १६ भदौ २०८१, आइतबार

कांग्रेस चियापान कार्यक्रम : प्रधानमन्त्री प्रचण्ड लगायतका शीर्ष नेता सानेपामा

blog

कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेका सभापति शेरबहादुर देउवा र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, कात्तिक ११ गते । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएको प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा माओवादी शीर्ष नेताहरू चियापान कार्यक्रममा सहभागी हुनुभएको हो ।

उहाँहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले स्वागत गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, नेताहरू जनार्दन शर्मा, अग्नि सापकोटा लगायतका शीर्ष नेताहरू सहभागी हुनुभएको हो । साथै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि कार्यक्रममा सहभागी हुनुभएको छ ।


त्यस्तै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेताहरु सहभागी हुनुभएको छ । कार्यक्रममा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी हुनुभएको छ ।


कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ । बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।


यो पनि पढ्नुहोस

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी (फोटो फिचर)