• २९ मङ्सिर २०८२, सोमबार

कालिका नगरपालिकाको चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास

blog

चितवन, मङ्सिर २९  गते ।  चितवनको कालिका नगरपालिकाको चक्रपथ (रिङ रोड) भएको गैरीबारी, चापागौँडीदेखि शेरबास जाने सडक शिलान्यास गरिएको छ । कालोपत्र सडक र पक्की नालाको कालिका वडा नं ८ गैरीबारीमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले  आइतबार शिलान्यास गर्नुभयो । 

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कालिका नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा एक हजार ६५० मिटर कालोपत्र सडक र दुई हजार ६५० मिटर पक्की नाला निर्माणको शुभारम्भ आइतबार गर्नुभएको हो ।

नगरप्रमुख रेग्मीले विकास निर्माणमा सबैलाई सघाउन आग्रह गर्नुभयो । यो सडक निर्माणले वैकल्पिक सडकमार्ग, पर्यापर्यटन कृषि उपज, बाटोको जनघनत्व एवं न्यूनीकरण कम गर्न, रणनीतिक हिसाबले कालिका नगरपालिकाको आर्थिक रूपमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा व्यक्त गर्दै नगरका अन्य क्षेत्रमा बन्न नसकेका बाटाघाटो विस्तारै बन्दै जाने उहाँको भनाइ छ । नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार सो सडकका लागि पालिकाको रु एक करोड ८० लाख र प्रदेश सरकारको रु एक करोड २० लाख गरी रु तीन करोडको बजेटमा जीएराम माता कङ्कालीनी जेभीले रु दुई करोड तीन लाख ९० हजारमा ठेक्का सकारेको हो ।

विसं २०८२ मङ्सिर २५ गते ठेक्का सम्झौता भई २०८३ साल जेठ ३१ गते  सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । रासस