• १२ साउन २०८१, शनिबार

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी (फोटो फिचर)

blog

नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी शीर्ष नेताहरु । तस्बिर : कविन अधिकारी

काठमाडौं,  कात्तिक ११ गते । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी हुनुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी हुनुभएको छ ।


सो अवसरमा मुलुकमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरूप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो,“ हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।”

कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ । बिपी वि.सं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले वि.सं २०३४ देखि चियापान सुरु गरेको हो ।