नवलपरासी समाचारदाता
कावासोती, कात्तिक ११ गते । दसैँ सकिना लाग्दै गर्दा किसान यति बेला धान काट्न र थन्क्याउनमा व्यस्त हुन थालेका छन् । किसानको व्यस्ततासँगै पूर्वी नवलपरासीमा यो वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । जिल्लाका किसानलाई अहिले धान काट्न र थन्क्याउनमा भ्याइनभ्याइ छ ।
पूर्वी नवलपरासीमा यो वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको र यो वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकोमा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको प्रमुख तिवारीको भनाइ छ । यो वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेकाले धान उत्पादन राम्रो हुने र अहिलेसम्म ४५ प्रतिशत धान कृषकले थन्काइसकेका र अब १५ दिनभित्र सबै धान थन्क्याइसक्ने प्रमुख तिवारीले बताउनुभयो ।
यति बेला खेत खेतमा किसान धान थन्काउनमा व्यस्त छन् । अहिले गाउँघरमा देखिने युवा रोजगारी भन्दै भारततिर पस्न थालेपछि धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका छन् । खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको अमरापुरीका कृषकले बताए । यसबाट काममा सहजता हुँदै गएको अमरापुरीका कृषक विष्णु कँडेलले बताउनुभयो। विशेष गरेर अहिले धान थन्काउने चटारो भएका बेला धान काट्ने मेसिन र धान झाँट्ने थ्रेसरको प्रयोगले आफूहरूलाई सहज भएको रजहरका कृषक तिलकबहादुर थापाले बताउनुभयो ।
त्यस्तै धान रोप्ने समयमा भन्दा पनि धान झाँट्ने समयमा थे्रसरको प्रयोग गरिने हुँदा धान कृषकलाई सहज भएको र एकै दिनमा धेरै जनाको धान थन्काउन पाएको देवचुली नगरपालिका–१३ का वडाध्यक्ष एकदेव पौडेलले बताउनुभयो ।
पूर्वी नवलपरासीमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ भने सिफारिस भएका ८६ जातमध्ये सात थरीका मात्र रैथाने धानको यो जिल्लामा खेती हुने गरेको छ । यो वर्ष जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान बढी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।