• ११ मंसिर २०८१, मङ्गलबार

कलाकार घिमिरे घाइते

blog

पोखरा समाचारदाता 

पोखरा, कात्तिक ११ गते । कलाकार प्रकाश घिमिरे दुर्घटनामा परी सख्त घाइते हुनुभएको छ । पोखरा महानगरपालिका–३, नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिकको भिरबाट घाँसको डाला तान्ने क्रममा खसेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिनुभयो ।  

उहाँका साथी प्रेम शेरचन सँगै रहेकाले उहाँ भिरबाट तल खसेको तत्काल थाहा भएर पनि उद्धार गर्न झाडीका कारण लगभग २ घण्टा लागेको थियो । अहिले उहाँको मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालका अनुसार उहाँको टाउको, छाती र मेरुदण्डमा चोट लागेको छ । उहाँ अझै अचेत अवस्थामा रहेको जनाइएको छ । उहाँको रक्तचाप र अक्सिजन लेबल निकै कम भएकाले पनि काठमाडौँ लैजान निकै कठिन भएको उहाँका आफन्त गोविन्द पौडेलले जानकारी दिनुभयो । 

दसैँको बेलामा बिदामा बसेका सिनियर चिकित्सकहरूलाई तत्काल सहभागी गराई उपचार सुरु गरिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । मणिपाल शिक्षण अस्पतालका अनुसार घाइते घिमिरेको अवस्था अहिले स्थिर छ ।

उहाँको फिल्म पशुपतिप्रसाद २, भस्मे डन पोखरालगायत देशैभर प्रदर्शन भइरहेको छ । नाटक प्रहसनबाट आरम्भ भएको उहाँको कलाकारिता टेलिसिरियल दलन हुँदै दर्जनौँ चलचित्र अभिनयसम्म आउँदा निकै उचाइ पाएको छ ।