काठमाडौं, कात्तिक ९ गते । कैयौँ शताब्दीदेखि मानिसबीच छलफलको विषय बनेको छ– के मानव शरीर आगोको बाह्य स्रोतबिना अनायास जल्छ वा आगोको लप्काले घेरिन्छ ? विदेशी विद्वान्ले भन्ने गरेको ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’ अर्थात् मानव शरीर स्वःस्फूर्त दहन हुने पहिलो ज्ञात घटना सन् १६४१ को छ तर यस्तो घटनाले इस्वी संवत्को १९ औँ शताब्दीमा त्यतिबेला व्यापक चर्चा पायो जब प्रख्यात लेखक चाल्र्स डिकेन्सले आफ्नो उपन्यास ‘ब्लिक हाउस’ मा आफ्नो पात्रलाई मार्न ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’लाई प्रयोग गरे।
जब आलोचकले जुन कुरा अस्तित्वमै छैन त्यसलाई डिकेन्सले वैध बनाएको आरोप लगाए । उनले ३० वटा ऐतिहासिक घटनाका बारेमा भएका अनुसन्धान औँल्याएका थिए । हालको कुरा गर्ने हो भने प्रहरी र दमकलकर्मीले वरिपरिका फर्निचर, गलैँचा आदिमा कुनै प्रभाव नपरी जलेर मरेका मानिस फेला परेपछि ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’ माथि शङ्का गरिन थालियो।
उदाहरणका लागि आयरल्यान्डका एक मृत्यु समीक्षकले सन् २०१० मा मृत्यु भएकी ७६ वर्षीय मिसेल फहर्टेको निधनको कारण ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’ भएको बताए किनभने नराम्रोसँग जलेको शरीर कोठामा फेला पर्यो तर वरिपरि आगोले कुनै पनि खालको क्षति पुगेको थिएन । मानव शरीरमा अधिकांश पानी हुन्छ तथा शरीरमा निकै प्रज्वलनशील गुण भएका तìव बोसो र मिथेन ग्यास हुन्। ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’ को वास्तविक घटना भइहाल्ने सम्भावना अत्यन्त न्यून देखिन्छ । कैयौँ वैज्ञानिकले यस सिद्धान्तलाई अस्वीकार गरेका छन्। उनीहरूको तर्क छ सलाई वा चुरोट जस्ता आगोको पत्ता नलाग्ने स्रोत वास्तविक कारण हुन सक्छन्। मूलतः मृतकलाई आगोको स्रोत नजिक फेला पारिन्थ्यो तथा प्रमाणहरूले के सुझाव दिएका छन् भने त्यसरी मरेका कतिपयले चुरोट पिउँदा वा आगो बाल्न खोज्दा अचानक आफ्नो शरीरमा आगो लगाएका हुन्।
अर्कोतर्फ ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’ मा विश्वास गर्नेले के औँल्याउने गरेका छन् भने मानव शरीरलाई खरानीमा परिवर्तन हुन लगभग तीन हजार डिग्री ताप पुग्नु पर्छ। ब्याक्टेरिया, ‘स्ट्याटिक विद्युत्’, मोटोपना, तनाव तथा निरन्तर ठूलो मात्रामा अल्कोहल उपभोगलाई ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’ को सम्भावित कारण मानिएको छ तर यी कुनै पनि कारणलाई विज्ञानले अहिलेसम्म स्वीकार गरेको छैन ।
बेलायती बायोलोजिस्ट ब्रायन जे फोर्डले सन् २०१२ अगस्टमा ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’ बारेमा आफ्नो परीक्षणका बारेमा न्यु साइन्टिस्ट पत्रिकामा व्याख्या गरे। फोर्डका अनुसार अल्कोहल, मधुमेह वा विशेष खालको आहाराले शरीरमा एसिटोनको मात्रा बढ्दा ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’ हुन सक्छ ।