• २० वैशाख २०८१, बिहिबार

चाडपर्वमा सवारी दुर्घटना : यो वर्ष तुलनात्मक कम

blog

काठमाडौं, कात्तिक ८ गते । नेपाल प्रहरीले चाडपर्वको समयमा हुने सार्वजनिक सवारी साधनको दुर्घटना यो वर्ष कम भएको बताएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विगतका वर्षको तुलनामा लामो दुरीका सार्वजनिक साधनको दुर्घटना यो पटक कम भएको जानकारी दिनुभएको हो । 

उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “देशैभरमा सबैतिरको जम्मा तथ्याङ्क आएको छैन । तुलनात्मक रुपमा यो पटक ठूला–ठूला सार्वजनिक यात्रुवाहक बसहरु दुर्घटनामा परेको छैन”, यसबाहेक पाल्पा लगायतका स्थानमा निजी प्रयोजनका यातायातका साधन दुर्घटनामा परेको उहाँको भनाइ छ । 

उहाँका अनुसार दसैँ पर्वको अवसरमा काठमाडौं उपत्यका बाहिर जानेको संख्या १५ लाखभन्दा बढी रहेका छन् । मंगलबार दिउँसो देखि नै सडकमा यातायातका साधनको चहलपहल बढ्दै गएको छ । 

उहाँले भन्नुभयो, “१५ लाखभन्दा बढी उपत्यका बाहिर भएको तथ्याङ्क छ, फर्किने क्रम अलि अलि सुरु भयो । यताबाट काठमाडौं बाहिर दसैँ मनाउन जाने लामो बसहरु दुर्घना भएन । रिजर्भ गएका, फेमिली टुर गएका बसहरु पल्टेका छन् । फाट्टफुट्ट चोरी भएको छ”, उहाँले विगतको तुलनामा चोरी पनि कम भएको भनाइ राख्नुभयो । 

उहाँले प्रहरीको सुरक्षा व्यवस्थाका साथसाथै नागरिकमा सचेतना बढेकाले चोरीको घटनामा कमी भएको बताउनुभयो । यद्दपि सबै कार्यालय खुलेपछि यकिन तथ्याङ्क केही दिनभित्र तयार गरिने उहाँले बताउनुभयो । तराई–मधेस लगायतका क्षेत्रमा मूर्ति सेलाउने क्रममा हुने वादविवाद, कुटपिट यो वर्ष कम भएको समेत उहाँले बताउनुभयो । 


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।