• २३ पुस २०८१, मङ्गलबार

कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर

blog

रावलपिण्डी, पाकिस्तान, कात्तिक  ६ गते । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ ।  

गत वर्ष सत्ताबाट हटाइएपछि उहाँ कानूनी झमेलमा फस्नुभएको छ । उहाँले आफूलाई सन् २०२४ जनवरीमा निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट रोक्नका लागि आरोप लगाइएको बताउनुभएको छ । 

लोकप्रिय राजनीतिज्ञ खानलाई भ्रष्टाचारको आरोपमा अगस्टमा तीन वर्षका लागि जेल सजाय गरिएको थियो तर जब उहाँको सजाय उल्टियो त्यसपछि उहाँलाई राज्यका कागाजातहरू साझा गरेको धेरै गम्भीर आरोपमा हिरासतमा राखियो । 

“उहाँलाई आज दोषी ठहर गरिएको छ र आरोपलाई खुलारूपमा पढिएको छ”, पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी ९एफआईए० का शाह खावरले पूर्वप्रधानमन्त्री खानलाई राखिएको अदियाला जेलबाहिर भन्नुभयो ।

एफआईएको एक रिपोर्टअनुसार यो मामिला आफूलाई शक्तिशाली सैन्य प्रतिष्ठानद्वारा समर्थित अमेरिकी षड्यन्त्रको हिस्साका रूपमा सत्ताबाट बाहिर गरिएको भन्ने पूर्वप्रधानमन्त्री खानले पेस गरेको प्रमाणसँग मात्र सम्बन्धित रहेको छ । अमेरिका र पाकिस्तानी सेनाले खानको उक्त दावीको खण्डन गरेका छन् । 

खानको पाकिस्तान तहरिक–ए–इन्साफ ९पीटीआई० पार्टीका उपाध्यक्ष एवं पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई पनि उक्त मामिलामा दोषी ठहर गरिएको छ । 

पीटीआईका एक प्रवक्ताले ‘अदालत परिसरभित्र जनता तथा मिडियाको पहुँचबिना आयोजित’ मुद्दामा दुवै व्यक्तिमाथि औपनिवेशिक युगको आधिकारिक गोपनीयता कानूनअन्तर्गत आरोप लगाइएको बताउनुभयो । 

खानका वकिल उमर खान नियाजीले पत्रकारहरूसँग भन्नुभयो, “हामी यसलाई चुनौती दिनेछौँ ।” खानका वकिलहरूका अनुसार जुन अपराधमा उहाँमाथि आरोप लगाइएको छ त्यसमा १४ वर्षको जेल सजाय हुनसक्छ र सबैभन्दा गम्भीर परिस्थितिमा मृत्युदण्डको सजायको प्रावधान छ ।  रासस/एएफपी