• २४ पुस २०८१, बुधबार

पुर्ख्याैली सिप संरक्षणमा विद्यार्थी

blog

देवचुली माध्यमिक विद्यालयका विद्यार्थी पञ्चेबाजा बजाउँदै ।

मीना कँडेल

कावासोती, पुस २३ गते । गाउँमा भएका युवाहरु रोजगारको लागि विदेशिने क्रम बढ्दो छ । युवा विदेशिँदा गाउँ सुनसान छ, परम्परागत सिप पनि हराउन थालेको छ । पछिल्लो समय विभिन्न जातजातिले बजाउने बाजा लोप हुन थालेसगै संरक्षणमा नवलपुरका बालबालिका लागिपरेका छन् । अहिले शिक्षासँगै पुर्ख्याैली सिपको विकास गर्न बालबालिकाहरु सक्रिय भएका छन् । 

नवलपुर जिल्लाको देवचुली नगरपालिकाभित्र रहेका विद्यालयले शिक्षासँगै सिपको विकास गराउन जोड दिएका छन् । देवचुली वडा नं १६ का बालबालिकाहरु अहिले समूह नै बनाएर बाजा सिक्ने र विभिन्न कार्यक्रममा पढाइसँगै बाजा बजाउन जाने गरेका छन् ।

देवचुली १६ का दश वर्षीय होम थापाले फुर्सद र बिदाको दिन बाजा बोक्ने गरेको बताउनुभयो । आफ्नै गाउँको अभिभावकले सिकाएको ढोलक, सनही र नरसिंहा बाजा बजाउन सिकेकाले विभिन्न कार्यक्रममा जाँदा वा विद्यालयमा नै बाजा बजाउने गरेको उहाँको भनाइ छ । "हामीलाई विद्यालयमा विभिन्न सिप पनि सिकाइएको छ, बिदाको सदुपयोग पनि भएको छ", थापाले भन्नुभयो । 

विद्यार्थीको जीवनमा पढाइ मात्र नभएर बाहिरी कुराको पनि सिको हुनुपर्ने र विद्यालयले त्यो सिकाइ प्रदान गरिरहेको बताउनुभयो । उहाँ जस्तै देवचुली माविका विद्यार्थी सम्राट नेपालीले शिक्षासँगै आफूहरुले पुर्ख्याैली बाजा बजाउनु पर्छ र लोप भएको बाजालाई फेरि जागरुक गराउनुपर्छ भन्ने उद्देश्यले आफू र अरु साथीहरुसँगै मिलेर विभिन्न कार्यक्रममा बजाउने गरेको बताउनुभयो ।

देवचुली माध्यमिक विद्यालयले शिक्षासँगै बाजा बजाउन सिकाउने अभियान चलाएर आफूलाई सहजकर्ताको रुपमा बोलाएपछि विद्यालयमा गएर बाजा बजाउन सिकाएको भीमबहादुर परियारले बताउनुभयो । अहिले बालबालिकाहरु आफूले भन्दा पनि राम्रो बाजा बजाउने गरेको परियार बताउनुहुन्छ । अभिभावकको समेत समर्थन र सहयोग रहेको भन्दै बाजा सिकाउने अभियान प्रभावकारी बन्दै गएको परियारले बताउनुभयो । 

नौमती बाजा दलित समुदायको मौलिक बाजा भए पनि पछिल्लो समय सबैले बजाउन थालेको भीमसेन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो । अहिले भीमसेन आदर्श माध्यमिक विद्यालयका विद्यार्थीले उत्कृष्ट रुपमा बाजा बजाउन थालेका र यसप्रति विद्यार्थीको आकर्षण बढेको विद्यालयका प्रधानाध्यापक भुसालले बताउनुभयो । उहाँले अन्य विद्यालयले पनि विद्यार्थीहरूलाई शिक्षासँगै सिपमूलक र कलासम्बन्धी कुराहरू सिकाउनुपर्ने बताउनुभयो । 

पछिल्लो समय लोप हुने अवस्थामा रहेको नौमती बाजा बजाउन पाउँदा निकै खुसी लागेको भीमसेन आदर्श विद्यालयका ओमन विक बताउनुहुन्छ । आफूहरूले नरसिंह, सनही, दमाहा, ट्याम्काे, झ्याली, धमेलक जस्ता सामग्रीको प्रयोगबाट नौमती बाजा बज्ने र भीमसेनले अवसर दिएको विकले बताउनुभयो ।

सानो उमेरमा लोप हुने अवस्थामा रहेको बाजा बजाए पछि बालबालिका र अभिभावकहरु पनि उत्साहित छन् । शिक्षासँगै विद्यालयमा बालबालिकाहरुलाई बाजा बजाउन सिकाउने र विभिन्न कार्यक्रममा प्रस्तुति देखाउने गरेको विद्यालयका प्रधानाध्यापक भुसालले बताउनुभयो । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै अन्य बाहिरी कुरामा पनि सहभागिता गराइरहेको भुसालले बताउनुभयो।

देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले विद्यार्थीलाई किताबी ज्ञान मात्र हैन, व्यावहारिक शिक्षा पनि दिनुपर्छ भन्ने ठानेर विद्यालयमा सिपमूलक शिक्षामा जोड गरेको बताउनुभयो । विद्यार्थीको चौतर्फी क्षमता विकासमा सहयोग पुग्ने मात्र नभई परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुगेको न्यौपानेले बताउनुभयो ।