• २ मंसिर २०८१, आइतबार

खसी–बोका बेच्न महिला बजारमा

blog

तनहुँको सदरमुकाम दमौलीमा दशैंको लागि खसी र बोका बिक्री गर्ने क्रममा महिला । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक ४ गते । दशैंमा खर्चको जोहो गर्न गाउँका स्थानीय महिला खसीबोका बेच्न बजारमा व्यस्त हुनेगरेका छन् । पुरुषहरु रोजगारीका लागि बाहिर गएपछि महिला आफैँ बजार गएका हुन् ।

छोरा साउदी अरबमा रोजगारीको लागि गएकोले आफैले खसी र बोका दमौलीमा बेच्न ल्याएको ऋषिङ गाउँपालिका –१ की धनमाया थापाले बताउनुभयो । अधिकांश पुरुष रोजगारीका लागि विदेश जानेगरेकाले गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र भएकाले आफूजस्तै अन्य महिला पनि खसीबोका बेच्न बजार आएको उहाँले बताउनुभयो । 

खसी र बोका विक्रीका लागि दमौली बजारमा आउनुभएकी सोही ठाउँ निवासी दिल्लीमाया थापा मगरले वैदेशिक रोजगारको आकर्षणले पुरुष पलायन हुँदा जनशक्तिको अभाव भएकाले महिलाले नै खसीबोका बेच्नुपरेको बताउनुभयो । उहाँहरुजस्तै तनहुँको सदरमुकाम दमौलीमा खसी तथा बोका बिक्री गर्ने अधिकांश महिला छन् । 

देवघाट गाउँपालिका –२ की खुसीमाया विकले आफ्नो श्रीमान् रोजगारीको लागि विदेश गएकाले बेच्नका लागि आफै आएको बताउनुभयो । बिकले भन्नुभयो, ‘दसैंमा बिक्री भएन भने गाउँमा अन्य समयमा बेच्न कठिन हुने भएर अहिले नै बेच्न आएको हुँ ।’

पहिले बेलायत र भारतीय सैनिकमा भर्ती भएर जाने चलन भए पनि पछिल्लो समय साउदी अरब, मलेसिया, दुबई, कतार, दक्षिण कोरिया, जापानलगायतका देशमा बढी युवाहरु जानेगरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो ।

दैनिक एकसय भन्दा बढी युवाहरु राहदानी बनाउन आउनेगरेको उहाँको भनाइ छ । गैरेले भन्नुभयो, ‘अहिलेका धेरै विद्यार्थीको सपना विदेशमा पढ्ने र विदेशमै बस्ने, विदेशमै रोजगारी गर्ने भएकाले राहदानी बनाउनेहरु बढिरहेका छन् ।’ 

सुनसान गाउँ 

गाउँ युवाविहीन हुँदा दशैं तिहारजस्ता ठूला चाडपर्वमा पहिलेजस्तोे चहलपहल हराउँदै गएको छ । ऊर्जाशील युवा गाउँ छाडेर रोजगारी र अध्ययनका लागि विदेश तथा सहर–बजारतिर गएपछि गाउँको रौनक घटेको गुनासो ज्येष्ठ नागरिकको छ ।

व्यास नगरपालिका –११ पोल्याङ निवासी ७८ वर्षीय खडानन्द कैनीले गाउँमा युवा नहुँदा सुनसान हुनेगरेको बताउनुभयो । गाउँघरमा युवा उमेरको जनशक्ति नहुँदा रोटे तथा लिङ्गेपिङ् हाल्न छाडिएको बताउनुभयो ।