चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ३ गते । नेपालीको महान् चाड दसैँ भित्रिएसँगै गाउँघरमा चहलपहल बढेको छ । दसैँ मनाउनेहरु गाउँघर फर्किएपछि ताप्लेजुङका गाउँमा चहलपहल बढेको हो ।
जिल्ला सदरमुकाम फुङ्लिङसहितका शहरी क्षेत्रमा रहेका विद्यार्थी, कर्मचारी, व्यापार व्यवसायमा संलग्नहरु गाउँ फर्किएपछि चहलपहल बढेको छ । गाउँघर फर्किनेहरुका कारण अहिले गाउँघरमा निकै चहलपहल बढेको सिदिङ्वा गाउँपालिका –४ साब्लाखुका स्थानीय सञ्जय पन्दाकले बताउनुभयो । उहाँका अनुसार लामो समयसम्म गाउँबाहिर रहेका परिवारका सदस्यहरु घर फर्किन थालेपछि गाउँघर रमाइलो हुँदैगएको छ ।
रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएकाहरू चाडपर्वसँगै अहिले धमाधम गाउँ फर्किन थालेपछि ग्रामीण बस्तीमा निकै चहलपहल छाएको स्थानीयले बताएका छन् । यता चाड मनाउन गाउँ फर्किनेका कारण शहरी क्षेत्र भने सुनसान बन्दै गएको छ । यतिबेला सदरमुकाम फुङ्लिङ बजारमा पनि झण्डै आधाले चहलपहल घटेको छ ।
शनिबारदेखि भने बजार सुनसान नै हुने अवस्था देखिएको ताप्लेजुङ उद्योग jfणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो । दसैँका लागि उपभोग्य वस्तुलगायत आवश्यक सामग्री खरिद गर्ने उपभोक्ताको सङ्ख्या ह्वात्तै घटेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार दिनभर बजार पसलहरु खुला रहनेछ । दसैँको रौनक अब गाउँघरमा सुरु भएको उहाँको भनाइ छ ।