• १२ असार २०८१, बुधबार

दसैंमा नेपाल एयरलाइन्सले नेपालगन्जबाट हिमाली जिल्लामा दैनिक उडान गर्ने

blog

पहाडी जिल्लाका लागि उड्ने जहाजहरु नेपालगन्ज विमानस्थलमा । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, कात्तिक २ गते ।
नेपाल एयरलाइन्सले दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ ।

नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले आगामी मङ्गलबारदेखि केही दिनसम्म हिमाली जिल्लामा दैनिक उडान गर्ने तालिका बनाइएको जानकारी दिनुभयो ।

उहाँले दसैँमा नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा जाने यात्रुहरू तथा त्यहाँबाट नेपालगन्जलगायतका स्थानमा फर्किनेहरूका लागि दैनिक उडानको योजना बनाएका छौं ।

कार्यालय प्रमुख चौधरीका अनुसार नेपालगन्जबाट कर्णालीका हुम्ला र मुगुमा मङ्गलबारदेखि शनिबारसम्म पाँच दिन नियमित उडान गरिनेछ । त्यसैगरी नेपाल एयरलाइन्सले नेपालगन्जदेखि नै डोल्पा, जुम्ला र बाजुरामा मङ्गलबारदेखि शुक्रबारसम्म चार दिन नियमित उडान गर्नेछ ।

नेपालीहरूको महान पर्व दसैँ, तिहारमा दुर्गमका जिल्लामा जान यात्रुहरूले दुःख पाउने भएकाले उनीहरूको सहजताका लागि केही दिन हिमाली जिल्लामा नियमित उडान गरिने भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले यात्रुहरूको सहजताका लागि उडान थप्न निर्देशन दिएपछि थप उडान राखिएको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो । नेपाल एयरलाइन्सको हवाइ टिकट अनलाइन र सम्बन्धित कार्यालयमा पुगेर यात्रुहरूले लिनसक्ने व्यवस्था मिलाइएको नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

हिमाली जिल्लामा जान यात्रुहरूको चाप बढेपछि दैनिक नियमित उडान राखिएको जनाइएको छ । यी हिमाली जिल्लाहरूमा सडक यातायात भरपर्दो नहुँदा हवाइ यातायात नै आवत जावतको मुख्य विकल्पको रूपमा छ ।

यसअघि नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिमका जिल्लामा हप्तामा कतै एक र कतै दुई दिन उडान गर्दै आएको थियो । तर अहिले दसैँलाई मध्यनजर गर्दै एयरलाइन्सले उडान थप्दै सबै हिमाली विमानस्थलमा दैनिक उडानको तालिका राखेको छ ।

निजी एयरलाइन्सहरूले समेत नेपालगन्जबाट यी सेक्टरमा उडान गरे पनि पप्र्यात मात्रामा जहाज नहुँदा तराईबाट घर फर्किने र हिमाली जिल्लाबाट चाडवाड मनाउन घर फर्किने कर्मचारीहरूले सास्ती भोग्दै आएका छन् ।

हवाई टिकट पाउनै समस्या
दसैँ नजिकिँदै गर्दा सिमकोटबाट नेपालगन्ज आउने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रूपमा उडान नहुनु, टिकट महँगो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो ।

हुम्लाको सिमकोट जानका लागि टिकट खोजिरहनुभएका सिमिकोटका जीवन परियारले हुम्ला जाने टिकट नपाएर यहीँ बस्नुपरेको बताउनुभयो । उहाँले ११ दिनदेखि टिकटको खोजी गरिरहेपनि अझैसम्म पाउन नसकेको गुनासो गर्नुभयो ।

दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि परियारले टिकट सकिएको जवाफमात्र पाउने गरेको बताउनु भएको छ ।
हुम्लाका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले मात्र दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको जनाइएको छ ।

नेपाल एअरलाइन्सले उडान भर्न सुरु गरेपछि चाडपर्वका लागि आवागमन गर्ने यात्रुलाई सहज हुने विश्वास गरिएको छ ।