• ११ मंसिर २०८१, मङ्गलबार

गण्डकी प्रदेशका शक्तिपीठ

मालश्री धुन गुन्जँदा दर्शनार्थी आनन्दित

blog

रमेश पौडेल

पोखरा, कात्तिक २ गते । नवरात्र सुरु भएसँगै गण्डकी प्रदेशका शक्तिपीठमा निरन्तर मालश्री धुन गुन्जँदा दर्शनार्थीले अपार आनन्द महसुस गरिरहेका छन् । यहाँ प्रायः शक्तिपीठमा यी धुन बजाउने गरिएको छ । कतिपय देवी मन्दिरमा महायज्ञसमेत लगाइएको छ ।  प्रदेशका पोखरा, बागलुङ, तनहुँ, लमजुङमा रहेका शक्तिपीठमा देशैभरबाट भक्तजन दर्शनका लागि पुग्ने गर्छन् ।

विन्ध्यवासिनी भागवत ज्ञान महायज्ञ

पोखराको वडा नं. २, मिरुवामा अवस्थित विन्ध्यवासिनी मन्दिर अढाई शताब्दी पुरानो मन्दिर मानिन्छ । कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहलाई सपनामा विन्ध्यवासिनी देवीले भारतको विन्ध्याचलमा गएर मेरो प्रतिमा ल्याउनु र स्थापना गर्नु भनेपछि राजाले लाभालस्करसहित गई देवीलाई ल्याएर स्थापना गरिएको किंवदन्ती रहेको छ ।

सानो थुम्कोमा अवस्थित मन्दिरमा पुग्न सबै किसिमका मानिस पुग्न सकून् भनेर हाल अपाङ्गतामैत्री बाटो र लिफ्टको समेत व्यवस्था गरिएको संस्कृतिविद् एवं विन्ध्यवासिनी धार्मिक क्षेत्र विकासका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै कुँडहरस्थित भद्रकाली मन्दिरलाई पनि विन्ध्यवासिनीकै बहिनीका रूपमा लिइन्छ । 

तालवाराही मन्दिरः  फेवातलको बिच भागमा रहेको तालवाराहीमा पनि उत्तिकै भिड लागेको छ । वाराही देवीको शक्तिप्रति भक्तजन नतमस्तक हुने गरेका छन् ।  कास्कीका राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व विसं १४४७ देखि अस्तित्वमा रहेको अभिलेख पाइन्छ । प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो । त्यहीँ मन्दिर स्थापना गरी वाराहीका रूपमा पुजिन थालिएको किंवदन्ती रहेको छ ।  विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका हुन् । 

त्यस्तै कस्केली राजाको कुलदेवीका रूपमा रहेको कास्कीकोटमा भने मन्दिरमा भित्र प्रवेश निषेध गरिएकाले बाहिरबाटै मात्र दर्शन गर्नु पर्छ । यहाँ तान्त्रिक तथा वैद्धिक पूजा हुन्छ ।  घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गर्ने परम्परा रहेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविव्रmम शाहीले बताउनुभयो । यीबाहेक बाटुलेचौरस्थित कालिका, भीमकाली, जाल्पादेवी, अकलामाईमा पनि दर्शनार्थीको भिड बढेको छ ।

तनहुँका प्रमुख छ शक्तिपीठ

तनहुँको १० पालिकामा थुप्रै देवीका मन्दिर भए पनि छ वटा शक्तिपीठमा विशेष भिड लाग्छ । व्यास नगरपालिकाको छाब्दीस्थित छाब्दीवाराही मन्दिर, व्यास नगरपालिका–४, बाघभन्ज्याङस्थित तनहुँ कालिका मन्दिर, शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित ढोरवाराही मन्दिर, आँबुखैरेनी गाउँपालिका–१ मा आँधीमूल वाराही, अकलादेवी र वडा नम्बर ५ मा छिम्केश्वरी मन्दिर चर्चित रहेका छन् । 

गाउँसहर कालिकामा भाकल बुझाउनेको भिड 

लमजुङ बेँसीसहर नगरपालिका–३, गाउँसहर दरबारस्थित गाउँसहर कालिका मन्दिरमा टाढा टाढादेखि भाकल बुझाउने आउनेको भिड लाग्दछ ।  त्यस्तै उदीपुरस्थित उदीपुर कालिका र मस्र्याङ्दी गाउँपालिका–६, भिरपुस्तुङ कालिका मन्दिरमा पनि स्थानीय भक्तजनले श्रद्धा र विश्वासपूर्वक बलिसहित पूजाआज गरेको छ । 

बागलुङ दुर्गा भगवती मन्दिर 

बागलुङमा रहेको बागलुङ भगवती यस क्षेत्रकै प्रख्यात मन्दिर हो । यहाँ प्रायः सधैँ जसो  भक्तजनको भिड लाग्ने गरे पनि बडादसैँकोे अवसरमा विशेष भिड लाग्ने गर्छ । यस मन्दिरको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न भागबाट भक्तजन आउने गर्दछन् । 

म्याग्दीका कोटमा मार हान्न बोलकबोल 

म्याग्दीमा रहेका ताकमकोट, सदरमुकामको बेनीकोट, ज्यामरुककोट, राखुभगवतीकोट, उत्तरी भेगको घारकोट मन्दिरमा र घतानकोटमा दसैँ अवधिभर धूमधामसँग पूजा हुन्छ । करिब तीन सय वर्ष पुराना र ऐतिहासिक मानिने यी कोटका दसैँघरमा फूलपातीका दिन नौमती बाजासहित फूलपाती भिœयाउने परम्परा रहेको छ । त्यस्तै नवमीको दिन ती कोटमा बलि चढाइने राँगो मार हान्न बोलकबोल गरिन्छ । गत वर्ष रघुगङ्गा गाउँपालिका–२ को  राँखु भगवतीकोटमा राँगोको मार हान्न तीन लाख रुपियाँसम्मको बोलकबोल भएको थियो । बाइसे/चौबिसे राज्य हुँदादेखि नै यस्तो बोलकबोलको परम्परा रहेको स्थानीयको भनाइ छ ।  बोलकबोल गरेर मार हानेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । 

गोरखाका शक्तिपीठमा ७५ वटा बलिको तयारी 

गोरखामा गोरखकाली, गोरखनाथ गुफा, मनकामना, श्रीनाथमण्डली, लिगलिगकोट, तान्द्राङकोट, अजिरकोटलगायतका शक्तिपीठ छन् । 

ऐतिहासिक गोरखा दरबारमा रहेको गोरखकाली र गोरखनाथ गुफामा दसैँका अवसरमा विशेष पूजा आराधना हुन्छ । गोरखकालीको पूजा आराधना गर्दा आरोग्य मिल्नुका साथै मनोकामना पूरा हुने विश्वास रहेको गोरखा दरबारका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताउनुभयो । 

यहाँ नवरात्रभर ७५ वटा बलि दिने कार्यक्रम गोरखा दरबार हेरचाह अड्डाले जानकारी दिएको छ । फूलपातीको दिन गोरखा दरबारबाटै काठमाडौँको हनुमानढोकामा भिœयाउनका लागि फूलपाती लैजाने परम्परा रहेको छ । 

गोरखामा नै रहेको मनकामना मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनको पनि पहिलो रोजाइमा मनकामना मन्दिर पर्ने पुजारी इन्सानबहादुर थापाले जानकारी दिनुभयो । 

पर्वतको प्रसिद्ध कालिकादेवी 

पर्वतमा रहेका शक्तिपीठमध्ये प्रसिद्ध कालिकादेवी, बाटुलेचौर कालिका मन्दिर र दुर्लुङ कालिका भगवती प्रसिद्ध मानिन्छ । बाटुलेचौर कालिका मन्दिरको स्थापना विसं १९५० मा स्थानीय सामजसेवी कीर्तिनाथ पौडेल पाध्याले गर्नुभएको हो । उहाँको सपनामा कालीले मन्दिर स्थापना गरी पूजा गर्न निर्देशन दिएपछि मन्दिर स्थापना गरिएको हो । किंवदन्ती अनुसार पहिले बाटुलेचौरलाई राजा दशरथको यज्ञस्थल भनी पूजा गरिँदै आएको थियो । राजा दशरथले भान्जा श्रवण कुमारको हत्याको पाप मोचन गर्न बाटुलेचौरमा अश्वमेघ यज्ञ गरेको किंवदन्ती छ । 

त्यस्तै कुस्मा नगरपालिका–३ मा पर्ने दुर्लुङ कालिका भगवती मन्दिरमा पहिले खुँडा र तरबार राखेर कालिकादेवीलाई पूजा गर्दै आएको स्थानीवासी बालकृष्ण सुवेदीको भनाइ छ । यो मन्दिरको विसं २०५१ मा स्थापना भएको हो । यसलाई स्थानीयवासीले भुमेकोटलाई शक्तिपीठका रूपमा मान्दै आएकाले विसं १९११ देखि नै नियमित पूजाआजा हुँदै आएको स्थानीयको भनाइ छ । 

मौलाकालीमा बलि निषेध

नवलपरासी पूर्वमा पर्ने मौलाकालिका भगवती मन्दिरमा दसैँमा पनि बलि निषेध गरिएको छ । दैनिक तीन जना पुजारीबाट वैदिक विधि अनुसार सात्विक रूपमा पूजाअर्चना पाठपरायणा हुँदै आएको छ । मन्दिर परिसरभित्र बलिप्रथा निषेध गरिएको मौलाकालिका धार्मिक सेवा समितिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । 

१५ औँ शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो यस ठाउँमा सैनिक टुकडी राखी देवघाट धाममा चक्रवर्ती शिला स्थापनासहित तीर्थबास गरेको र सैनिक टुकडीलाई शक्ति आराधानाका लागि मौलो गाडेर पीठका रूपमा पूजाअर्चना गर्ने व्यवस्था गरेको भन्ने मान्यता छ । उनको शासनकालपछि स्थानीय पिनाली र सुनारी मगरले पूजा गर्दै आएका छन् । २०३२ सालमा गैँडाकोट–१, निवासी काशीनाथ पौडेलले सपनामा देखेको आधारमा खनिखोस्रो गर्दा धमिराले खाएको काठको मौलो गोल आकारको शिला तथा घन्टी भेटिएपछि मन्दिर निर्माण गरेर २०३८ सालको बडादसैँदेखि संस्थागत रूपमा पूजा प्रारम्भ हुन थालेको हो । 

त्यस्तै पूर्वपश्चिम लोकमार्ग अन्तर्गत विनयीत्रिवेणी गाउँपालिकाको दुम्कीबासदेखि सात किलोमिटर पर रहेको दाउन्ने देवीमा दसैँमा विशेष रमाइलो हुन्छ । मल्ल राजाहरूले यहाँ दरबार नै बनाएर यो मन्दिरको पूजाआजा गर्ने गरेको पुजारी बलभद्र स्वामीले बताउनुुभयो । मन्दिरसँगै यहाँ बौद्ध गुम्बा रहेको र बौद्ध ज्ञानका लागि विद्यालयसमेत रहेको छ । 

स्याङ्जाका सतौँकोट 

पुतलीबजार नगरपालिका–१४ मा रहेको सतौँ (चण्डीस्थान) कोट विसं. ८६५ मा निर्मित मन्दिरलाई १७७० मा राजा दीर्घराज शाहीले पुनर्निर्माण गरेकोे इतिहास छ । बाइसे चौबिसे राज्यका राजाले आआफ्ना राज्यमा सुख र समृद्धिका लागि देवीदेवताको आराधना गर्ने प्रचलन अनुरूप सतौँकोटे राजाहरूले मन्दिर स्थापना गरी सतौँ चण्डी नामकरण गरिएको किंवदन्ती छ । 

सतौँका राजाको दरबार भनिने मन्दिरमा कालिका र भैरवको पूजा गरिन्छ । यसबाहेक आलमदेवी, गहौकोट, रापाकोट, बहाकोट, खिलुङकोटलगायतका दर्जनभन्दा धेरै शक्तिपीठ रहेका छन् । 

(तनहुँबाट अमरराज नहर्की, म्याग्दीबाट ठाकुरप्रसाद आचार्य, स्याङ्जाबाट अर्जुन काफ्ले, पर्वतबाट प्रनिश गिरी, नवलपरासीबाट होमराज रानाभाट, गोरखाबाट नरेन्द्र ढकालको सहयोगमा )