प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक १ गते । वर्षमा एक पटक आउने दसैँका लागि सबै नागरिक सकेसम्म घर आउने गर्छन् । रोजगारी, मजदुरी वा पढाइका लागि घर बाहिर गएकाहरू दसैँ मनाउन घर जाँदा खाल्डाखुल्डी सडकका कारण निकै सास्ती भोग्नुपरेको बताएका छन् ।
कालीकोटका ग्रामीण क्षेत्रमा जाने नागरिकलाई सबैभन्दा बढी सास्ती हुनेगरेको उनीहरूको गुनासो छ । कर्णाली कोरिडोरका जिते लालीघाटवाट रास्कोट, पलाँता क्षेत्रमा जाने यात्रुले सबैभन्दा बढी सास्ती पाइरहेका छन् । अपुग गाडी त्यसैमा सिन्डीकेटका कारणले यात्रुले यो समयमा निकै दुःख पाउनेगरेको बताएका छन् ।
रास्कोट–३ का अशोकनाथ योगीले यातायात समितिको मनपरी रोक्न कसैले नसकेकोप्रति गुनासो गर्नुभयो । यहाँ लालीघाटमा यात्रुहरू खचाखच भरिएका छन् । समितिका मान्छेले रिजर्भमा गाडी पठाउने गरेकाले अन्य यात्रुले दुःख पाउनेगरेको योगीको भनाइ छ । उहाँले यो चलन २०७३ यतादेखि कायम रहेको र कसैले पनि रोक्न नसकेकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।
कोरोनाकालमा बढेको भाडाभन्दा अझ चर्को भाडा लिने गरिएको छ । सुर्खेतदेखि कालीकोटको रास्कोट नगरपालिका सम्मको दूरी एकसय ६९ किलोमिटर छ । तर दसैँको मुखमा भाडा बढाएर प्रतिव्यक्ति ३ हजार लिनेगरेको स्थानीयको भनाइ छ ।
सदरमुकाम मान्मदेखि रास्कोटसम्मको दूरी ४६ किलोमिटर छ । यहाँको भाडा दर प्रतिव्यक्ति एक हजार भएको स्थानीयको भनाइ छ । जुन प्रतिकिलोमिटर २१ रुपियाँ ७३ पैसाभन्दा बढी हुन्छ । मनोमानी गर्दा पनि स्थानीय प्रशासन भने मौन रहेको नागरिकको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले लालीघाटमा प्रहरी परिचालन गरेर यातायात समितिको मनपरी रोक्ने काम भएको दाबी गर्दै आउनुभएको छ । कोरिडोर खण्डका प्रहरी चेकपोष्ट भएका ठाउँमा यात्रुलाई ओराल्ने र अलि उतावाट फेरी चढाउने चलन कर्णाली कोरिडोरमा पहिलादेखि चल्दैआएको छ । यसमा प्रहरीको समेत सहमति हुनेगरेको छ । प्रहरीले आफैले पनि हप्ता उठाउने भएकाले देखेर पनि नदेखेझैँ गर्नेगरेको स्थानीयको गुनासो छ ।
खाँडाचक्र नगरपालिका–३ का तुलाराम पाण्डे काम विशेषले रास्कोट गएकाले बेला गाडीमा प्रहरीको मोलमोलाइ भएको सुनाउनु भयो । उहाँले कालीकोट प्रहरी प्रमुख अर्जुन केसीलाई समेत यो गुनासो सुनाउनुभयो । प्रहरी प्रमुखले यस विषयमा आफू गम्भीर भएको र अनुसन्धान हुने प्रतिक्रिया दिनुभयो । रास्कोट –८ का लंक धमालाले दसैँमा कोरिडोरका यात्रुलाई आवतजावतमा दुःख हुनेगरेको बताउनुभयो ।