• १९ असार २०८१, बुधबार

बालिकाहरूको समग्र विकासमा दायित्व बोध गराउन सम्मेलन

blog

तेस्रो नवलपुर बालिका सम्मेलनमा सहभागी किशोरीले नृत्य प्रस्तुत गर्दै । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, असोज ३० गते । 
नवलपुरको देवचुली नगरपालिकामा तेस्रो नवलपुर बालिका सम्मेलन भएको छ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ सुरु गरिएको बालिका सम्मेलनमा १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

बालिका तथा किशोरीहरूको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत सङ्घ संस्थालाई उनीहरूको भूमिका र दायित्व बोध गराउन सम्मेलन आयोजना गरिएको नवलपुर किशोरी सञ्जालका अध्यक्ष विद्या ढुङ्गानाले बताउनु भयो । “नवलपुर जिल्लासहित, चितवन, रुपन्देही र कपिलवस्तुका किशोरी एवम् सरोकारवाला एकै स्थानमा बसी किशोरीका सवाल, राम्रा अभ्यास, सुझावहरूको सङ्कलन र छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेका हौँ,” उहाँले भन्नु भयो ।

नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान पुर्‍याउन सम्मेलनमा स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाहरू बिच छलफल भएको छ । सम्मेलनमा जिल्लाका आठैवटा स्थानीय तहबाट १० वर्षदेखि माथि र १९ वर्ष उमेर मुनिका बालिका तथा किशोरी प्रतिनिधिहरूको सहभागितामा विषयगत छलफल सञ्चालन भएको अध्यक्ष ढुङ्गानाले बताउनु भयो ।

कावासोतीबाट सहभागी मनीषा पौडेलले किशोरी सशक्तीकरणका अभियानले अहिलेका बालबालिकामा ऊर्जा थपेको बताउँदै बैनीहरूको क्षमतामा निकै सुधार आएको महसुस गरेको बताउनु भयो । देवचुलीकी एलिना केसीलेसञ्चार क्षेत्रमा क्रियाशील केसीले सामाजिक रूपको अलावा अभिभावकका बिचमै पनि खुलेर कुरा गर्न नसक्ने अवस्था पार गरेको अनुभव बाँड्दै अहिलेको पुस्तामा देखिएको दृढताले खुसी लागेको बताउनु भयो ।

छलफल पश्चात् भौतिक विकाससँगै मानवीय विकासको लागि बालबालिकाहरू र बालबालिकामा लगानी वृद्धि गर्न,  विद्यालयमा उपलब्ध भएको सेनेटरी प्याडको गुणस्तर कमसल रहेकाले प्याड प्रयोग गरेपछि विसर्जन गर्न मिल्ने पूर्वाधारहरूको विकास गर्नुपर्ने, छोरी भ्रूणबाट असुरक्षित रहने हुँदा जन्मेपछि बालिकामा गरिने दुर्व्यवहार, पीडा, हिंसा भएकाले स्थानीय तहलाई बालबालिका र किशोरमैत्री वातावरण निर्माण गर्न अनुरोध, बालबालिकाको पोषण र विद्यालयमा पढ्ने सबै बालबालिकाका लागि खाजाको व्यवस्था स्थानीय तहले गर्नु पर्ने, बालिकाहरूको जीवन सुरक्षाका लागि बिमा कार्यक्रम सञ्चालन लगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेश सांसद पद्मा जिसी श्रेष्ठले बाल अधिकार र किशोरी अधिकारका सवालमा तिनै तहको सरकारको अपनत्व रहने गरी नीतिगत तहमा आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बालिकामा यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको अवस्था के छ, उनीहरूले के चुनौती भोगिरहेका छन्, बालिकाका लागि प्रदेश र स्थानीय सरकारले के काम गरिरहेको छ भन्ने विषयमा आफू लागि परेको बताउँदै बालबालिकाको क्षेत्रमा पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । त्यसैगरी आठवटा स्थानीय तहका उपप्रमुखले आफ्नो पालिकालाई बालमैत्री बनाउनुपर्नेमा जोडदिनु भयो ।

सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्त्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गरिएको हुनाले तेस्रो नवलपुर बालिका सम्मेलन प्रभावकारी हुने जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताउनु भयो । कार्यक्रममा चारवटा जिल्लाबाट सहभागी भएका किशोरीले नृत्य, कविता, गजलमार्फत आफ्नो प्रस्तुति सरोकारवालालाई देखाउँदै बालबालिकामा देखिने चुनौतीलाई संरक्षण गर्न अनुरोध गरेका थिए ।

नवलपुर किशोरी सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालले आयोजना गरेको सम्मेलनमा जिल्लाका आठ वटै स्थानीय तह सहित विभिन्न सरोकारवाला सङ्घ संस्थाहरूले सहकार्य गरेका छन् । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा प्रथम बालिका सम्मेलन वि.सं २०७३ र दोस्रो बालिका सम्मेलन २०७४ सालमा आयोजना गरिएको थियो ।