• ९ पुस २०८१, मङ्गलबार

पदमुक्त भएपछि नगरपालिका उपस्थित हुनु भएन मौलापुर नगरप्रमुख साह

blog

यादवराज पुरी
रौतहट, असोज ३० गते ।
 रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रीनाकुमारी साहको पद गुमेपछि उहाँ मङ्गलबार नगरपालिका उपस्थित हुनुभएन । मङ्गलबार नै निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएपछि उहाँ पालिकामा अनुपस्थित रहनुभएको हो ।

नेकपा एकीकृत (मार्क्सवादी–लेनिनवादी) राजनीतिक दलबाट स्थानीय निर्वाचन दोस्रोमा समेत विजयी हुनु भएको उहाँले माउ दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भन्दै एमालेको केन्द्रीय समितिको निर्णयले राजनीति दल सम्बन्धी ऐन र नियमावलीअनुसार उहाँको पद गुमेको निर्वाचन आयोगको जारी सूचनामा उल्लेख छ ।

आज बिहान १० बजेसम्म पद गुमेको जानकारी नपाएको भन्नुहुँदै उहाँले दसैँको मुखमा तलब भत्ता, विकास निर्माण सम्पन्न कामको भुक्तानीलगायतका आर्थिक तथा अन्य महत्त्वपूर्ण काम बाँकी रहेकाले सोको काम कारबाहीका लागि नगरपालिका पुग्नुपर्ने बताउनु भए पनि जानकारी पश्चात् उहाँ पालिका उपस्थिति हुनुभएन ।

उहाँ आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुनुहुन्छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले राष्ट्रिय सूचना जारी भइसकेपछि नैतिकताको आधारमा पनि उहाँ कार्यालय नआउनु भएको हुनसक्ने बताउनुभयो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट विक्रम संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा साह निर्वाचित भएको आयोगले जनाएको छ ।

पार्टी त्याग गरेको र अन्य पार्टीको सदस्यता लिएको भनी माओवादी पार्टीको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएपछि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निर्वाचित भएको निजको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको दोस्रो निर्वाचनमा उहाँले पाँच हजार पाँच सय ६४ मत प्राप्त गरी उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार रामप्रवेश राय यादवलाई दुई हजार ५०२ मतान्तरले पराजित गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस

मौलापुर नगरपालिकाका मेयर साहको पद गयो