• १२ मंसिर २०८१, बुधबार

प्रस्तावित गेटा मेडिकल विश्वविद्यालयमा सय बेडको सेवा सुरु हुँदै

blog

अस्पतालको सेवाबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराइँदै । तस्बिर : भावना जोशी

भावना जोशी

अत्तरिया, असोज ३० गते । प्रस्तावित गेटा मेडिकल विश्वविद्यालयमा भोलिदेखि एक सय बेडको अस्पताल सञ्चालनमा आउने भएको छ । एक सय बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद जोशीले बताउनुभयो । 

अस्पताल सञ्चालनका लागि आवश्यक तयारी भइसकेको र बुधबार बिहान १० बजेबाट अस्पतालले ओपिडी सेवा सुरु गर्नुभएको हो । यसका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधिलगायतको प्रबन्ध भइसकेको उहाँले बताउनुभयो । 

अस्पताल सञ्चालनका लागि सहायकस्तर र श्रेणीविहीन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्री परिषद्को २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राङ्कित तथा अधिकृतस्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन  सहज भएको जोशीले बताउनुभयो ।

आर्थिक वर्ष २०८०–८१ को बजेटमा गेटा अस्पताललाई एक सय बेड क्षमताको अस्पतालको रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि पुँजीगततर्फ ८० करोड र चालुतर्फ ३ करोड ५० लाख बजेट विनियोजन गरिएको मेसु जोशीले बताउनुभयो । 

साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार वार्षिक विकास कार्यक्रम स्वीकृति भई प्राप्त भएको एवम् चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्वन्धि मार्गदर्शन गेटा अस्पताललाई प्राप्त भएपछि बुधवारदेखि अस्पताल सञ्चालन आउन लागेको हो ।

ओपिडी सेवा सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो  । अस्पताल सेती प्रादेशिक अस्पताल सरह सेवा शुल्क लिनेगरी अस्पताल सञ्चालन हुन लागेको छ  । अस्पताल सञ्चालनमा ल्याउन मेसुसहित चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत २६ जना कर्मचारी हाजिर भइसकेका जोशीले बताउनुभयो । अस्पतालले थप सेवा कात्तिक १ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।  जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्रीसेवा, जनरल सर्जरी, अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा आउने जनाइएको छ । 

यस्तै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तरङ सेवा मङ्सिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसूति सेवा पुस महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियू सेवा आगामी वैशाखभित्र सञ्चालनमा ल्याउने तयारी अस्पतालले गरेको जनाएको छ ।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, गोदावरी नगरपालिकाका प्रमुख, वडाध्यक्षलगायत सरोकारवाला निकायले  मंगलबार अस्पतालको अवलोकन र निरीक्षण गर्नुभएको छ । 

सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि उपचार पाउनबाट वञ्चित बिरामीले अब गेटा अस्पतालबाटै सहज रूपमा उपचार सेवा पाउने भएका छन् । गेटा अस्पतालमा क्रमिकरुपमा बेड सङ्ख्यासँगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्नेगरी काम अघि बढाइएको मेसु जोशीले जानकारी दिनुभयो ।