• २५ वैशाख २०८१, मङ्गलबार

प्रहरीका समस्या समाधान गर्न लागिपरेका छौँ : मुख्यमन्त्री शर्मा

blog

६८ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री राजकुमार शर्मा । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, असोज ३० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफूहरू प्रहरीका समस्या समाधान गर्न लागिपरेको बताउनुभएको छ । मंगलबार प्रहरीको ६८ औँ स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयद्वारा आयोजना गरिएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

मुख्यमन्त्री शर्माले समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको महत्त्वपूर्ण भूमिका भएको बताउँदै उनीहरूलाई हरेक गलत प्रवृत्तिविरुद्ध लड्न सक्षम बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।  

‘अहिले प्रहरीलाई बस्ने भवन छैन । कतै खटाइयो भने सुत्ने, ओत लाग्ने ठाउँ छैन । सकेसम्म प्रहरीसँग यातायातका साधन नै छैनन् । साधन भएका स्थानमा त्यसमा प्रयोग गर्ने तेल छैन । प्रहरीका यी दुख मैले महसुस गरेको छु ।’ उहाँले भन्नुभयो, ‘प्रहरीका यस्ता समस्या समाधानका लागि प्रदेश सरकार लागिपरेको छ । 

धेरै स्थानमा प्रहरीका भवन निर्माण गर्नेदेखि यातायातका साधनहरू उपलब्ध गराउनेसम्मका काम आफूले गरेको उहाँले बताउनुभयो । कार्यक्रम कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसी जितेन्द्रले देशमा सङ्घीयता कार्यान्वयन भएको लामो समय भइसक्दा पनि सङ्घीयता हुबहु कार्यान्वयन नभएको गुनासो गर्नुभयो । 

उहाँले देशमा कर्मचारीहरू समायोजन भए पनि प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्नेदेखि प्रहरीसम्बन्धी अन्य संरचना निर्माण गर्न समस्या भएको बताउनुभयो । वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालले प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । 

उहाँले प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने बताउँदै त्यसका लागि तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिदैं प्रहरी सबल र सक्षम भए समाजमा शान्ति सुव्यवस्था कायम गर्न सहज हुने उहाँको धारणा छ ।