• १४ मंसिर २०८१, शुक्रबार

मासुको उचित भण्डारण गर्दैनन् व्यवसायी

blog

गलकोट (बागलुङ), असोज ३० गते । मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाइ हुनु जरुरी छ ।

बागलुङमा मासु पसलहरूले उचित मापदण्ड पूरा नगरी मासुको बिक्री वितरण गरेको पाइएको छ । उचित मापदण्डमा नचल्दा मासु पसलहरूको मनोमानीका कारण उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहेको मासु पसलहरूको अनुगमनका क्रममा पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र पर्यटन तथा घरेलु उद्योग कार्यालयले संयुक्त रूपमा बजार अनुगमन गर्ने क्रममा मासु पसलहरूले उचित सरसफाइ नगरेको, मासु भण्डारण उचित तापक्रममा नगरेको र मासुलाई बाहिर राखेर बिक्री वितरण गरेको पाइएको छ । मासु भण्डारण फ्रिजलाई रातको समयमा बन्द गरिएको, आवश्यक तापक्रम पूरा नभएको, मासु पसलको सरसफाइ नगरेको, कानुनी प्रक्रिया पूरा नगरी मासु पसल सञ्चालन गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

उहाँका अनुसार चाडपर्वको समयमा हुनसक्ने कालोबजारी, स्वास्थ्यमाथिको खेलबाडलाई नियन्त्रण गर्न मासु पसलको समेत अनुगमन गरिएको र अनुगमनका क्रममा केही मासु पसल राम्रो भए पनि अधिकांश मासु पसलहरू भने मापदण्डअनुसार नचलेकाले केही मासु पसललाई सचेत बनाइएको तथा केहीलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

“मासु भण्डारण गरेको फ्रिजमा विद्युत् नलगाइएको, पसलमा खुल्लारुपमा मासु राखिएको, भुईँमै मासु राखिएको, फोहोरजन्य मासुहरूको उचित व्यवस्थापन नगरिएको पाइएको छ”, बरालले भन्नुभयो, “मासुजस्तो संवेदनशील खाद्य पदार्थलाईसमेत व्यापारको नाममा लापरबाही गरेको पाइयो, केही मासु व्यापारीहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर स्पष्टीकरण लिएका छौँ, केहीलाई दर्ता गर्नका लागि नगरपालिकामा पठाएका छौँ ।”

मासुलाई ऋणात्मक १० देखि १८ डिग्री सेल्सियमा भण्डारण गर्नुपर्ने भए पनि बागलुङका अधिकांश मासु पसलहरूमा मासु भण्डारणका लागि राखिएको फ्रिजको तापक्रम नपुगेको पाइएको छ । मासु पसलका लागि भित्ता, भुईँ लगायतमा टायल राख्नुपर्ने मापदण्ड भए पनि कतिपय मासु व्यवसायीहरूले नराखेको पाइएको छ । खुल्ला रूपमा मासु बिक्री गर्न नपाइने र उपभोक्ताले मासु खरिद गर्न आएपछि मात्र फ्रिजबाट मासु बाहिर निकाल्नुपर्ने भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङका प्रमुख डा.ऋषिराम सापकोटाले बताउनुभयो ।

चाडपर्व नजिकिएसँगै मासुको व्यापार बढी हुने भएकाले मासु पसलहरूको अनुगमनलाई तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्राविधिक सहन्सकुमार मेहताले बताउनुभयो । मेहेताका अनुसार मासु चिसो भए पनि उचित तापक्रम नपुग्दा अस्वस्थ्यकर हुने बताउँदै बागलुङका मासु व्यवसायीहरूलाई मासु भण्डारणका लागि प्रयोग गरिएको फ्रिजको विद्युत् निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ । 

“मासुलाई खुल्ला राखेर बिक्री गरेको पाइयो, झिँगा भन्केको मासु बिक्री गर्दै गरेको र भुईँमा समेत मासु राखेको पाइयो”, मेहताले भन्नुभयो, “अधिकांश मासु पसलहरूले मापदण्ड पूरा नगरेको र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको पाइयो ।” अनुगमनका क्रममा आधा दर्जन मासु पसलहरू बिनादर्ता सञ्चालनमा आएको पाइएको छ । दर्ता नभएका मासु पसलहरूलाई मापदण्ड पूरा गरी दर्ता गर्न नगरपालिकामा बोलाइएको नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत सरस्वती रेग्मीले बताउनुभयो । रासस