• ३० वैशाख २०८२, मङ्गलबार

मनसुन अवधिमा ९२ को मृत्यु, ३० जना बेपत्ता

blog

फाइल तस्बिर

काठमाडौँ, असोज ३० गते । यसपालिको मनसुनका समयमा देशभर विपद्जन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारी अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ । प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उहाँले मनसुनका समयमा पहिरोका चार सय ५९, बाढीका एक सय ४२, भारी वर्षाका एक सय ६८ र चट्याङका एक सय २३ घटना भएको जानकारी दिनुभयो । 

यसपटक १३ दिन ढिला गरी मनसुन यही असोज २८ मा बाहिरिएको थियो भने एक दिन ढिला गरी गत जेठ ३१ मा भित्रिएको थियो । भित्रिँदा पनि नौ दिन ढिला गरी असार ८ गते देशभर फैलिएको थियो । यसवर्ष मनसुन एक सय २४ दिन रहेको थियो । यसपटक मनसुनमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँठाउँमा ठुलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो आएको थियो । रासस