काठमाडौँ, वैशाख ३० गते । शहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब सरस्वती युथका स्ट्राइकर धिरेन्द्रबहादुर शाहको प्रतिबन्ध अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फुकुवा गरेको छ ।
धिरेन्द्रको प्रतिबन्ध फुकुवासँगै एन्फाको अपिल समितिले सरस्वतीलाई बस्ती युथ क्लबविरुद्धको नतिजा उल्ट्याएर तीन अङ्क दिइएको छ ।
एन्फाले मङ्गलबार सरस्वतीलाई पत्र पठाउँदै धिरेन्द्रको प्रतिबन्ध फुकुवा गरेकोले उहाँले लिगका बाँकी तीन खेल खेल्न पाउने निर्णय गरेको हो । तीन अङ्क थपिएसँगै सरस्वतीको रेलिगेसन डर टरेको छ ।
यसअघि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले धिरेन्द्रलाई खेलमा प्रतिबन्ध गरेको थियो । नयाँ बस्ती युथ क्लबका टिम म्यानेजर विकास राईले चैत ७ गते सरस्वतीविरुद्धको खेलमा धिरेन्द्रविरुद्ध उजुरी गर्नुभएको थियो ।
उजुरीमा धिरेन्द्रले विभिन्न मितिमा टुसाल र सरस्वतीसँग लिग खेल्न सम्झौता गरेको दाबी गरिएको थियो । धिरेन्द्रले २०७९ ‘बी’ डिभिजन लिगका लागि टुसालसँग सम्झौता गर्नुभएको थियो । तर लिग समयमै नभएपछि उहाँ जारी लिगका लागि सरस्वतीमा अनुबन्ध हुनुभएको थियो ।
धिरेन्द्रको फुकुवा भएकै दिन मङ्गलबार सरस्वती क्लबले वीरगन्ज युनाइटेड क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदान सातदोवाटोमा भएको खेलमा सरस्वतीले वीरगन्जलाई ३–० गोलले हरायो ।
सरस्वतीलाई जित दिलाउन ज्ञानेन्द्र जोशी, नरेशकुमार खत्री र धिरेन्द्रबहादुर शाहले गोल गर्नुभयो । जितसँगै ११ खेलबाट १५ अङ्क बनाएको सरस्वती आठौँ स्थानमा उक्लिएको छ । पराजित वीरगन्ज चौथो स्थानमा झरेको छ ।