अविनाश चौधरी
धनगढी, वैशाख ३० गते । जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाल्नु भएका प्रहरी उपरीक्षक बालनरसिंह राणाले जनतालाई सही सेवा दिनका लागि सबैभन्दा पहिले प्रहरीकै आचरण, व्यवहार सुधार गर्ने कार्यमा लागेको बताउनुभएको छ ।
प्रहरी र प्रहरीको व्यवहार ठीक नभएसम्म जनताले चाहे अनुसार सेवा दिन नसकिने भन्दै उहाँले प्रहरीको आचरण र व्यवहार सुधारमा लागेको बताउनुभएको हो । “अरूलाई सुधार्न र सेवा दिनका लागि सबैभन्दा पहिले हामी नै ठीक हुनुपर्यो”, आज पत्रकारसँग आयोजित परिचयात्मक एवम् अन्तर्क्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “हामी ठिक भएपछि अरूलाई ठीक गर्न सक्छौं ।”
उहाँले होटल रेस्टुरेन्टमा वेश्यावृत्ति गराउने कसैलाई पनि नछोड्ने, तर अरूलाई अनावश्यक दुःख नदिने बताउनुभयो । राणाले एकलौटी ढङ्गले आफूले काम नगर्ने भन्दै थप्नुभयो, “पहिले मेरो काम हेर्नुस, त्यसपछि मूल्याङ्कन गर्नु होला ।”
प्रहरी उपरीक्षक राणाले प्रहरीको ढिलाइका कारणले कसैलाई पनि समस्या नहोस भन्ने हेतुले सकेसम्म छिटो रेस्पोन्स गर्ने कार्यलाई प्राथमिकता दिने बताउनुभयो । जनताले चाहे बमोजिम प्रहरीले सेवा भन्दै उहाँले थप्नुभयो, “पुलिसले पुलिस जस्तै भएर काम गर्नुपर्छ । प्रहरी कार्यालयमा बस्नका लागि होइन, फिल्डमा खट्नका लागि हो ।”
कार्यक्रममा पत्रकारले जिल्लामा शान्ति, सुरक्षाको अवस्था चुष्ट बनाउन, सहज रूपमा सूचना उपलब्ध गराउन, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा विशेष ध्यान, प्रहरी आचरण व्यवहार सुधार गर्न लगायतको सुझाव दिएका छन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवण देउवाले पत्रकारलाई सहज रूपमा सूचना उपलब्ध गराउन प्रहरीलाई आग्रह गर्नु भयो । उहाँले प्रहरीको साइबर सेललाई सशक्त र अझ बलियो बनाउनु पर्ने आवश्यकता औंल्याउनु भएको छ । पत्रकारका सुरक्षाको ग्यारेन्टी गर्न पनि अध्यक्ष देउवाले प्रहरीलाई आग्रह गर्नु भएको छ ।