बोमलाल गिरी
नवलपुर, असोज ३० गते । दाह्री कपाल पूरै फुलेका छन् । आँखामा पावरवाला चस्मा । जिउ नुघेको छ । गाला चाउरी परेका छन् । कावासोती –१० का झंगबहादुर विश्वकर्मा उमेरले झण्डै ७० वर्ष पुग्नुभयो । आरनको काम उहाँको पुर्ख्यौली पेसा हो ।
अहिले पनि जीवन गुजारा चलाउन आरन नै मुख्य व्यवसाय हो । सानैदेखि गरेकाले होला उहाँलाई नआउने आरनको काम केही छैन । तर सीप र समयअनुसारका औजार बनाउन चाहिने सामान नहुँदा अझै पनि परम्परागत रूपमा काम गरिरहनुपरेको छ ।
झंगबहादुरको अनुहारमा अहिले सानै भए पनि अर्कै खुसी थपिएको छ । उहाँलाई आरनको काम गर्दा जति धेरै परिश्रम गर्नुपरेको थियो । त्यसमा केही राहत मिल्ने आशा छ । कारण, जिल्ला समन्वय समिति (जिसस) नवलपुरको पहलमा जिल्लाका पालिकाले बजेट छुट्टाएर आधुनिक आरनका मेशिन उपलब्ध गराएका छन् ।
बुलिङटार गाउँपालिका, बौदिकाली गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सहयोगमा परम्परागत सीप प्रवर्धन गर्नका लागि आरनमा सामग्री किनेर वितरण गरिएपछि आरनको काम गर्नेहरू खुसी भएका छन् । जिससले आरनको काम गर्ने जिल्लाका ६० जनालाई पञ्जा, चस्मा, पङ्खा, ड्रिल मेशिन र फलाम काट्ने मेशिन उपलब्ध गराएको हो । पालिकाको सहयोगमा झण्डै ११ लाखमा मेशिन किनेर उपलब्ध गराइएको जिसस प्रमुख बाबुराम विश्वकर्माले जानकारी दिनुभयो ।
जिससबाट निःशुल्क आरनका सामग्री पाएपछि परम्परागत पेसा पनि विस्तार भएको छ । परम्परादेखि विभाजित पेसाअनुसार आरनको काम दलित समुदायभित्रको विश्वकर्मा जातिको हो । तर अहिले नवलपुरमा विश्वकर्मा मात्र नभएर मगर समुदायका धेरैले आरनको काम गर्न थालेका छन् । वौदीकाली गाउँपालिका–४ का खुमबहादुर थापा मगर र कालु दर्लामी मगर, बुलिङटार वडा ३ का खिमबहादुर राना आरनको काम गर्ने केही प्रतिनिधि पात्र हुनुहुन्छ ।
उहाँहरूले पनि जिससले उपलब्ध गराएका सामग्री लिनुभयो । सामान पाएपछि खिमबहादुरले भन्नुभयो, ‘यो हाम्रो पुर्ख्यौली पेसा त होइन, तर म आरनको सबै काम गर्न सक्छु, सबै सामान बनाउन सक्छु, सामग्री नभएर समस्या भएको थियो, आज त्यो पनि पाइयो, यसले केही राहत दिनेछ, खुसी लागेको छ ।’
परम्परागत पेसा अहिले सङ्कटमा परिरहेका छन् । बालिघरे प्रथाको लगभग अन्त्य भइसकेको छ । अहिलेको शिक्षित युवापुस्ताले परम्परागत पेसा अङ्गाल्न छोडिसकेका छन् । उनीहरूको रोजाइकी विदेश वा जागिर भएको छ । त्यसमाथि आधुनिक औजार पनि नहुँदा आफ्नै परम्परागत पेसा नै सङ्कटमा पर्दै गएपछि पालिकासँग समन्वय गरी मेशिनहरू उपलब्ध गराएको जिसस प्रमुख विश्वकर्माले बताउनुभयो ।
कामको हिसाबले सधैँ उच्च भए पनि आरनको काम गर्नेको सम्मानका हिसाबले सधैँ नीच हुनेगरेको भन्दै अब त्यो सोचाइ तोड्न आवश्यक रहेको उहाँको भनाइ छ । कार्यक्रमका गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहा मगरले व्यवस्था परिवर्तन भए पनि सोच नबदलिएको र यो पेसा गर्नेहरू आफैले आफैलाई नीच सोच्ने काम बन्द गर्नुपर्ने बताउनुभयो । जिसस नवलपुरले पालिकासँग समन्वय गरेर प्रशासकीय काम गरेको उहाँको भनाइ थियो ।