• ६ जेठ २०८१, आइतबार

कर्णालीका शक्तिपीठमा बढ्दो भिड

blog

डोल्पाको त्रिपुरासुन्दरी भगवती मन्दिर । तस्बिर : विष्णुप्रसाद देवकोटा

सुर्खेत, असोज ३० गते । बडादसैँ सुरु भएसँगै कर्णाली प्रदेशका महत्वपूर्ण शक्तिपीठहरूमा भक्तजनको भीड लाग्न थालेको छ । कर्णाली प्रदेशका शक्तिपीठमध्ये सुर्खेतको गङ्गामाला देउती बज्यै, जुम्लाको चन्दननाथ, डोल्पाको त्रिपुरासुन्दरी, रुकुमको डिग्रे साइकुमारी र सल्यानको खैराबाङ मन्दिरमा विशेष भिड लाग्ने गर्छ । 

सुर्खेतको देउती बज्यै मन्दिर

सदरमुकाम वीरेन्द्रनगरदेखि तीन किलोमिटर पूर्वमा रहेको गङ्गामाला देउती बज्यै यस प्रदेशकै प्रमुख शक्तिपीठ मानिन्छ । वीरेन्द्रनगर नगरपालिका–१० पिपिरामा रहेको सधैँ नै भिडभाड हुने गरे पनि नवरात्रमा नेपालका विभिन्न स्थानका र भारतीय दर्शनार्थीको समेत भिड लाग्ने गरेको छ । देउती बज्यैको दर्शनले मनोकामना पूरा हुने विश्वास भक्तजनमा रहँदै आएको छ । 

मन्दिरका पुजारी जनक राजीका अनुसार दसैँको अवधिमा मात्रै करिब एक लाख भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गर्छन् । मन्दिरमा सकाम भक्ति गर्नेहरूको मनोकाङ्क्षा पूरा हुने भक्तजनहरूमा विश्वास रहेको छ । 

वीरेन्द्रनगर नगरपालिका–४ की जरमाया बाँठाले मनले सोचेको पूरा भएपछि आउने पवित्र ठाउँ नै देउती बज्यै मन्दिर भएको बताउनुहुन्छ । उहाँले आफूलाई दुःख पर्दा, समस्या हुँदा देउती बज्यैलाई भाकल गर्दा समाधान हुने दाबी गर्नुहुन्छ । 

पुजारी राजीका अनुसार सन्तानको चाहना राख्ने, विदेश जाने, हराएको सामान प्राप्त गर्न, नयाँ काम सुरु गर्न र रोगव्याधी नलागोस् भन्नका लागि भक्तजनले देउतीलाई भाकल गर्ने  गरेको पाइन्छ । 

किंवदन्ती अनुसार राजी बस्ती रहेको सुर्खेतमा जाल हाल्दा बाकस फेला परेको र त्यसलाई खोलेर हेर्दा बच्ची फेला परेकी थिइन् । उमेर बढ्दै जाँदा बिहे गर्ने जुम्लाबाट ब्राह्मण बोलाइए पनि राजी कन्याले बिहे गर्न नमानेपछि विलय भएको र पछि दुःख, अनिष्ट बढ्दा पुनः पूजाआजा गरेर अवस्था सामान्य भएपछि राजीलाई नै पुजारी गराउने चलन भएको जनक राजीले बताउनुभयो । उहाँका अनुसार गङ्गामा फेला परेकी कन्यालाई देउता मानेर पूजा गर्दा नाम गङ्गामाला देउती बज्यै रहन पुगेको हो । 

मन्दिर जन्माउने मन्दिर त्रिपुरासुन्दरी 

डोल्पाको त्रिपुरासुन्दरी मन्दिर दुर्गम तथा विकट जिल्लामा अवस्थित सबैभन्दा ठुलो शक्तिपीठ मानिन्छ । पुजारी रविप्रसाद न्यौपानेले त्रिपुरासुन्दरी देवीहरूको उत्पत्ति स्थल, सतीदेवीको अङ्ग पतन भएको ठाउँ र दस महाविद्यासमेत उत्पत्ति भएकाले यस मन्दिरको महìव अनौठो भएको बताउनुभयो । 

इश्वी संवत् १११४ मा स्थापना भएको बताइने मन्दिरको पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवीगङ्गालगायतका प्रसिद्ध तीर्थस्थलहरू रहेका छन् छुट्टै टाकुरामा अवस्थित मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वतीका विराजमान रहेको विश्वास भक्तजनले गर्दै आएका छन् । त्रिपुरासुन्दरीबाट पुतलीका रूपमा उडेका देवीहरू देशका विभिन्न ठाउँमा रहेका मन्दिरमा स्थापना भई प्रख्यात भएकाले त्रिपुरासुन्दरीलाई मन्दिर जन्माउने मन्दिरका रूपमा चिनिन्छ । परापूर्वकालदेखि नै मन्दिरमा न्यौपाने थरका पुजारी रहँदै आएका छन् ।

सल्यान खैराबाङ भुवनेश्वरी मन्दिर

खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवं प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यान जिल्लाको शारदा नगरपालिका–११ मा अवस्थित खैराबाङ मन्दिर साबिकको हिवल्चा गाविसमा पर्दछ । यस मन्दिरमा सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरीर बोकेर विश्व भम्रण गर्दा देवीको अङ्ग पतन भएको विश्वास गरिन्छ । देशभर रहेका ५१ पीठमध्ये प्रमुख मानिने खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मङ्गलबार र शनिबार पूजाआराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ । चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

भवानी भुवनेश्वरीले मनोरथ पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ । बाह्मण क्षेत्रीहरूले मन्दिर वरिपरि बसेर चण्डीपाठ गर्दछन् । खैराबाङमा वैदिककालमा पूजाआराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्स्य (ईष्र्या) त्याग्न देवीसँग माग गरिन्थ्यो ।

विसं १४८० देखि मन्दिरमा पञ्चबलिसहित पूजाआजा सुरु गरेको किंवदन्तीमा उल्लेख छ । मन्दिरमा दर्शन गर्न नेपाल र भारतका विभिन्न भागबाट दर्शनार्थी आउने गर्छन् । करिब २७ रोपनी जग्गामा फैलिएको मन्दिरमा २०७५ सालदेखि भने नयाँ मूर्ति स्थापना गरिएको छ ।  

किंवदन्ती अनुसार परापूर्वकालमा एक महिलाले घाँस काट्न जाँदा जङ्गलमा नौमती बाजा बजेको सुनेपछि सबै गाउँलेलाई बोलाइन् । बाँझको रुखमुनिको फेदैमा खड्ग निसानाको खुँडा तलमाथि गर्दा आवाज आइरहेको देखेर उनीहरू सबै आश्चर्यचकित भए । त्यही रात गाउँको एक पण्डितलाई सपनामा समेत देवी प्रकट भएसँगै त्यहाँ मन्दिर बनाई पूजाआजाको सुरुवात भएको किंवदन्ती छ ।