• ३० वैशाख २०८२, मङ्गलबार

‘जुनियर फरेस्टर’ लाई प्रदेशमा समायोजन गरिने

blog

काठमाडौँ, असोज ३० गते । कर्मचारी समायोजनबाट नसमेटिएका वन सेवाका करिब चार सय जुनियर फरेस्टर कर्मचारीलाई सरकारले प्रदेशमा समायोजन गर्ने भएको छ । 

कर्मचारी समायोजन ऐनबाट नसमेटिएका वन सेवाका ३८४ जना कर्मचारीलाई सात वटै प्रदेश सरकारले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी दरबन्दी सिर्जना गरेर प्रदेशमै समायोजन गर्न लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सङ्घीय व्यवस्था आइसकेपछि पनि कर्मचारी समायोजन ऐन–२०७५ ले ती कर्मचारीलाई नसमेट्दा समस्यामा पर्दै आएका थिए । वन मन्त्रालयका प्रशासन शाखाका उपसचिव वासुदेव रेग्मीले उहाँहरू अहिले जहाँ जहाँ कार्यरत हुनुहुन्छ, त्यहीँ समायोजन गर्ने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो । 

रेग्मीका अनुसार कर्मचारी समायोजनका क्रममा उहाँहरू भूलवश छुटेका थिए । अहिले उहाँहरू दरबन्दी नै नभए पनि प्रदेश सरकार अन्तर्गतका डिभिजन वन कार्यालयमा कार्यरत रहँदै आएका छन् । 

अहिले सात वटै प्रदेश सरकारमा दरबन्दी सिर्जना गरेर ओएनएमको फाइल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ । सामान्यले केही दिनमै उक्त फाइल मन्त्रीपरिषद्मा पेस गर्ने तयारी गरेको छ । 

सुदूरपश्चिम प्रदेशमा ३२, कर्णाली प्रदेशमा ५८, लुम्बिनी प्रदेशमा ७१, गण्डकी प्रदेशमा २५, बागमती प्रदेशमा ७१, मधेश प्रदेशमा ५३ र कोशी प्रदेशमा ७४ जना त्यस्ता कर्मचारी फाजिलमा रहेका छन् । फाजिलमा रहेका कर्मचारीलाई प्रदेशमै दरबन्दी रहने गरी समायोजन गर्न लागिएको रेग्मीले बताउनुभयो ।