धर्बेन्द्र झा
धनुषा, असोज २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रवाह गरिने स्वास्थ्य जाँचसम्बन्धी सेवालाई छिटो र विश्वसनीय बनाउन निर्देशन दिनुभएको छ ।
जनकपुरधामस्थित रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा प्रवाहमा हेलचेक्र्याइँ भइरहेको जनगुनासो बढ्न थालेपछि मुख्यमन्त्री यादवले सोमबार प्रयोगशालाको निरीक्षण गरी सेवाप्रवाहबारे जानकारी लिँदै यस्तो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘कुनै समस्या छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जानकारी गराउनुस् । जनताले विभिन्न रोगको जाँच गराउन आउँदा सहजरुपमा जाँचगरी रिपोर्ट सही दिनुस् ।’
अनि यस क्षेत्रका डा. र जनताको विश्वास जितनुस । उहाँले जाँचकै लागि बाहिर जानुपर्ने वातावरणको अन्त गर्नतर्फ लाग्न प्रयोगशालाका कर्मचारीलाई आग्रह गर्नुभयो । निरीक्षणको क्रममा मुख्यमन्त्री यादवलाई प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रले प्रयोगशालाबाट प्रवाह हुने सेवा र जनशक्तिको अभावमा काम गर्न भइरहेको समस्याको बारेमा जानकारी गराउनु भएको थियो ।
मुख्यमन्त्री यादव निरीक्षणका लागि आज बिहान प्रयोगशाला पुगेको बेला सेवा लिन आएका सेवाग्राहीसित प्रयोगशालाले दिनेगरेको सेवाको बारेमा समेत जानकारी लिनुभएको थियो । सेवाग्राहीले मुख्यमन्त्री यादवलाई जाँच गराउन आउँदा एउटा मात्र काउण्टर हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको गुनासो गरेपछि मुख्यमन्त्री यादवले काउण्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. मिश्रलाई निर्देशन दिनुभयो ।
सेवा प्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटोछरितो होस्, मुख्यमन्त्री यादवले निर्देशक मिश्रलाई भन्नुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई जनशक्तिको अभाव भए पनि सुलभ दरमा विभिन्न रोगको जाँचसम्बन्धी सेवा प्रदान गर्दैआएको छ । प्रदेश सरकारको लगानीमा सञ्चालित सो प्रयोगशालाले प्रतिदिन एक सयभन्दा बढी बिरामीको विभिन्न रोगसम्बन्धी जाँच गर्दैआएको बताइएको छ ।