• २८ वैशाख २०८१, शुक्रबार

लेखा सुपरिवेक्षकको सात बुँदे घोषणापत्र

blog

काठमाडौँ, असोज २८ गते । सहकारी संस्थाको नियमित वित्तीय स्वास्थ्य जाँच गरी सुधारात्मक रणनीतिक पद्धतिको विकास गर्न सञ्चालक समिति र व्यवस्थापनलाई जवाफदेही बनाउने प्रतिबद्धतासहित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैङ्कको आयोजनामा बिहीबारदेखि राजधानीमा जारी लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी : लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित रही दुई दिन चलेको गोष्ठीले स्वनियमनको अभ्यासमार्फत सहकारी अभियानलाई सुशासित र मर्यादित बनाउने प्रतिबद्धता जनाइएको छ । यसका लागि लेखा सुपरिवेक्षण समितिको क्षमतामा अभिवृद्धि गर्ने उल्लेख छ । 

यस्तै कुशल, प्रभावकारी र गुणस्तरीय सेवा प्रदानका लागि सहकारी सङ्घ संस्थामा आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउने प्रतिबद्धता गोष्ठीले गरेको छ ।

संस्थागत क्षमता अभिवृद्धि गर्न सहकारी सङ्घ संस्थाको जोखिम व्यवस्थापनका लागि नीति, प्रक्रिया र संस्थागत जोखिमका तत्वहरूको नियमित मूल्याङ्कन र समीक्षा गर्ने प्रणालीको विकास गर्ने प्रतिबद्धता गोष्ठीको रहेको छ ।

लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीले सहकारी सङ्घ संस्थाको आन्तरिक र बाह्य जोखिमको पहिचान, वर्गीकरण, विश्लेषण र मूल्याङ्कन गरी जोखिम न्यूनीकरणका लागि उपयुक्त सुरक्षित विधि, प्रविधि र आन्तरिक सूचना प्रणाली मजबुत बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सहकारी सङ्घ संस्था सम्बद्ध कानुन तथा नीति नियमको पालना एवं सदस्यता केन्द्रीयताको नियमित अनुगमनका लागि सञ्चालक समिति, उपसमिति, व्यवस्थापन, सदस्य र लेखा परीक्षकलाई जिम्मेवार बनाउन प्रभावकारी भूमिका निर्वाहका लागि पनि सो गोष्ठीले प्रतिबद्धता जनाएको छ ।

सहकारी सङ्घ संस्थाको नियमित आन्तरिक लेखा परीक्षण तथा सुपरिवेक्षण गरी जोखिम न्यूनीकरणका लागि सहजीकरण गर्न र राष्ट्रिय सहकारी बैङ्कद्वारा निर्माण हुने लेखा सुपरिवेक्षण समितिको सरलीकृत प्रतिवेदनको अद्यावधिक ढाँचा प्रयोग गरी सुपरिवेक्षणमा एकरूपता कायम गर्न प्रतिबद्धता पनि लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीले गरेको छ ।

साथै सहकारी सङ्घ संस्थामा स्वनियमन र सुशासन कायम गर्न कानुन र विधिको परिपालनामा शून्य सहनशीलताको नीति अपनाई साधारण सभाप्रति जवाफदेही भई कार्य गर्ने प्रतिबद्धता सो गोष्ठीले गरेको छ ।