• ३ पुस २०८१, बुधबार

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

blog

प्रहरी महानिरीक्षक कुँवरसहितको चार सदस्यीय टोलीलाई स्वागत गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरु । तस्बिर : नेपाल प्रहरी

काठमाडौं, असोज २७ गते । प्रहरी महानिरीक्षक वसन्त कुँवर स्वदेश फिर्ता हुनुभएको छ । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना भएको ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी भएर प्रहरी महानिरीक्षक कुँवर आज (शनिबार) स्वदेश फिर्ता हुनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरसहितको चार  सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । 

कार्यक्रम अवधिमा प्रहरी महानिरीक्षक कुँवर र नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले मेट्रोपोलिटन पुलिस न्यु स्कटलैण्ड यार्डका डेपुटी एसिस्टेन्ट कमिस्नर वार्ड,  सिडिओ कार्यालयका स्टफेन ओटर, यूएनओपिएस  कन्सल्टेन्ट सिसीलिया डन्सटर,  नेशनल क्राइम एजेन्सी (एनसिए) का विल विल्सन, कलेज अफ पुलिसीङका फाइनान्स एण्ड कमर्सियल प्रमुख डोमिनिट फिनिगनलगायतसँग भेटघाट र छलफल गर्नुभएको थियो ।


भेटघाटका अवसरमा आपसी समन्वय, हित तथा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल समेत भएको थियो । साथै ग्रिनबिच पुलिस बरो कमाण्ड पुलिस स्टेसनको समेत अवलोकन र अध्ययन भ्रमण गर्नुभएको थियो ।

बेलायत भ्रमणको क्रममा नेपाली राजदूतावास लण्डनका राजदूत ज्ञानचन्द्र आचार्य र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको टोलीबिच नेपाली राजदूतावास लण्डनमा भेटवार्ता भएको थियो । भेटघाटका क्रममा नेपाली राजदूतावासमा कार्यरत कर्मचारी, नेपाल प्रहरीबाट बेलायतमा अध्ययनरत प्रहरी कर्मचारी, बेलायतमा रहेका पूर्व प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति थियो ।

यूएनओपिएससँग सुरुवात गरिएको योजनाअन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीहरूबारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतीहरूको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल भएको थियो ।

बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक विष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल असोज २० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।