धर्बेन्द्र झा
धनुषा, असोज २६ गते । मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल–भारतवीचको खुला सीमाको व्यवस्थापन समयअनुसार हुनुपर्ने बताउनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाल–भारत खुला सीमा संवाद समूहले गरेको ‘नेपाल–भारत खुला सीमा’ विषयक अन्तरसंवाद कार्यक्रममा श्रममन्त्री सिंहले सीमाको समायअनुसार व्यवस्थापन गर्दा दुवै देशको सांस्कृतिक सम्बन्ध र घनिष्ठ मित्रतालाई ध्यानमा राखेर गर्नुपर्ने बताउनुभयो ।
उहाँले खुला सीमाले धेरै विषयमा सहजता हुँदा केही विषयमा समस्या समेत हुनेगरेको बताउनुभयो । खुला सीमाकै कारण सिमा क्षेत्रमा आपराधिक गतिविधि सँगसँगै लागुपदार्थको समेत ओसार पोसार हुनेगरेको र सीमा क्षेत्रका युवाहरू कुलतमा फँस्दैगएकोप्रति दुवै देशको सरकार गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले सीमा क्षेत्रको व्यवस्थापनमा दुवै देशका अधिकारीहरु गम्भीर हुनुपर्नेमा जोड दिँदै चुरे विनाशको असरबाट दुवै देशका जनता नराम्रोसँग प्रभावित भइरहेकाले यसको रोकथामका लागि साझा प्रयासको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का मधेश प्रदेश संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले खुला सिमानाका कारण दुवै देशका बासिन्दालाई सहजता भएको भन्दै सीमा नाकामा जनतालाई दुःख दिने काम बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल–भारतको सच्चामित्र रहेको र सीमा क्षेत्रमा देखिएका विवादलाई उच्च स्तरीय ढङ्गबाट समाधान गर्नुपर्ने बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले खुला सीमानाको व्यवस्थापनको विषयमा दुवै देशको सरकारको वीचमा वृहत छलफलको आवश्यकता भएको भन्दै दुवै देशको सम्बन्धलाई प्रगाढ बनाउने किसिमले कामकाज गर्नुपर्ने बताउनुभयो ।
भारत सरकारको वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत शैलेन्द्र कुमारले नेपाल–भारतबीचको सम्बन्ध अन्य छिमेकी राष्ट्रभन्दा फरक भएको भन्दै सिमानाकामा नेपालीसँग सरल व्यवहार गर्न भारतीय सीमा सुरक्षा वललाई निर्देशन दिइएको बताउनुभयो ।
नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, तराई –मधेश लोकतान्त्रिक पार्टी नेपालका कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंह, नेकपा माओवादी केन्द्र धनुषाका इन्चार्ज विजयशंकर नायकसहितका वक्ताहरूले बोल्नुभएको थियो ।