• २४ वैशाख २०८१, सोमबार

प्रहरी महानिरीक्षक कुँवरद्वारा बेलायती उच्च अधिकारीसँग भेटवार्ता

blog

करुण अर्याल
लण्डन, असोज २६ गते ।
संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहनुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बेलायतको परराष्ट्र मन्त्रालयसहित बेलायत प्रहरीका उच्च अधिकारीसँग द्विपक्षीय भेट गर्नुभएको छ । 

मन्त्रालयको उच्च अधिकारी स्टेफन ओटरसँगको भेटमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल सहभागी हुनुहुन्थ्यो । बेलायत सरकारको निमन्त्रणामा सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत विषयक कार्यक्रममा सहभागी हुन बेलायत आएको महानिरीक्षक कुँवर नेतृत्वको टोलीले बेलायत प्रहरी, प्रहरी एकाइमा भेट तथा अवलोकन गरेको  छ । 

सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत विषयकसँग सुरुवात गरिएको योजनाअन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटवार्ता तथा अनुभव आदानप्रदान गरिएको भेटमा सहभागी प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।


भेटमा कार्यक्रमकी विज्ञ सिसिला डनस्टरसँग छलफल भएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले नेशनल क्राइम एजेन्सीको भ्रमणका क्रममा यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । यसैगरी, कलेज आफ पुलिसिङमा तालिमका बारेमा जानकारी लिँदै नेपाल प्रहरीका अधिकृतलाई आगामी दिनमा सहभागी गराउने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । भ्रमणका क्रममा टोलीले मेटोपोलिटन पुलिस न्यू स्कटल्याण्ड यार्डका डेपुटी असिस्टेन्ट कमिस्नर वार्डसँग छलफल भएको थियो ।

टोलीले क्याम्ब्रिजसायर प्रहरी मुख्यालय, ग्रीनिच पुलिस बरो कमान्ड पुलिस स्टेशनको समेत अवलोकन गरेको थियो । यसैगरी, हिज मेजेस्टिज इन्स्पेक्टोरेट अफ कन्सटाबुलेरी एण्ड फायर रेस्क्यू सर्भिसेजको  पनि भमण गरेको उहाँले जानकारी दिनुभयो ।


सर्भिसेजले मुलुकको पुलिसिङ सम्बन्धी समग्र घटनाको तथ्याङ्क राखेर त्यसको मूल्याङ्कन गर्दै साधन स्रोत र कानुन अपर्याप्त भएमा त्यसको पहिचान गरी राजालाई प्रतिवेदन बुझाउने गर्छ ।  त्यसको आधारमा आवश्यक कानुन निर्माण वा संशोधन गर्न सहज हुने उहाँले बताउनुभयो । सो प्रतिवेदन सर्वसाधारणले पनि सहज रुपमा अध्ययन गर्न पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । यसको आधारमा नेपालमा पनि सङ्गठन र नागरिकको हितमा गर्न सकिने कामका बारेमा छलफल भएको थियो ।

भ्रमणका क्रममा बेलायतका प्रहरीका विभिन्न तहका अधिकृतसँग भएको भेटमा विकसित अपराधका चुनौतीबारे अनुभव आदानप्रदान गर्नुका साथै त्यस्ता चुनौतीको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने र आवश्यक सहयोगका विषयमा पनि विस्तृत  छलफल भएको उहाँले जानकारी दिनुभयो ।