• २१ वैशाख २०८१, शुक्रबार

कोशीमा मुख्यमन्त्रीका लागि आङ्बो र कार्कीको दाबी पेस

blog

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न पुग्नुभएका माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोसहित । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, असोज २५ गते । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दुईजनाको दाबी पेस भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएको समयभन्दा एक दिनअघि दुई जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गर्नुभएको हो ।  

गठबन्धन दलका शीर्ष नेताहरूबिच बिहीबार दिउँसो काठमाडौँमा भएको सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अपराह्न ५ बज्नुभन्दा केहीबेरअघि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गर्नुभयो । उहाँले गठबन्धन दलका नेताको समर्थन रहेको पत्रसहित दाबी पेस गर्नुभएको हो । 

यसैगरी शीर्ष नेताहरूबिच भएका सहमतिप्रति असन्तुष्ट आठ जना नेपाली कांग्रेसका सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा (एमाले) का ३९ सांसदको हस्ताक्षरसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेस गर्नुभएको छ । 

एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीसमेतको उपस्थितिमा उहाँहरू प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर दाबी पेस गर्नुभएको हो । शीर्ष नेताहरूबिच भएको सहमतिको विपक्षमा हस्ताक्षर गर्नुहुने सबै सांसद कांग्रेस नेता डा. शेखर कोइराला पक्षको रहनुभएको छ । 

उहाँहरूले नेपाली कांग्रेसको नेतृत्वमा कोशीमा सरकार गठन गर्नुपर्ने तर कांग्रेसले यसअघि मुख्यमन्त्रीको रूपमा अगाडि सारेको व्यक्तिलाई नै पुनः अगाडि सार्न नहुने अडान लिँदै आउनुभएको थियो । 

नेपाली कांग्रेसका सांसदहरू केदार कार्की, रामकुमार खत्री, शमशेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरुङले कार्कीको पक्षमा हस्ताक्षर बुझाउनुभएको छ । 

संविधानको धारा १६८ को उपधारा ५ (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । 


यसैबिच सरकार गठनको विषयलाई लिएर नेपाली कांग्रेसमा विवाद देखिएको छ । एमालेको समर्थनमा नेता केदार कार्कीले मुख्यमन्त्री पदमा दाबी पेस गरेलगतै कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले संसदीय दलको उपनेता पदबाट राजीनामा दिनुभएको छ । 

अर्कोतर्फ नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्नुभएका कांग्रेस सांसद मानबहादुर लिम्बूले शीर्ष नेताको सहमतिभन्दा बाहिर जान नसक्ने प्रतिक्रिया दिनुभएको छ । 

‘मैले केही दिनअघि कांग्रेसबाट फरक व्यक्ति मुख्यमन्त्री बनाउनुपर्छ भनेर हस्ताक्षर दिएको हुँ, तर शीर्ष नेताहरुबिचमा सहमति भइसकेपछि त्योभन्दा बाहिर कोही पनि जान सक्दैन, नेताहरूले निर्णयबारे जानकारी नगराउँदा यस्तो भएको हुनसक्छ’ उहाँले भन्नुभयो ।