गुणबहादुर रोका
सुलीकोट, असोज २५ गते । गोरखामा ६ दिनदेखि बेपत्ता एक पुरुषको शब फेला परेको छ । गोरखा नगरपालिका –१० ठुटेबजारस्थित दरौंदी नदीको किनारमा पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठका अनुसार साबिक गोरखा नगरपालिका –३ नारेश्वर घर भई हाल सिरानचोक गाउँपालिका –६ नयाँसाँघु बस्दै आउनुभएका भीमबहादुर बिकको शव भेटिएको छ ।
‘स्थानीयबासीले दरौंदी नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए, डिएसपी श्रेष्ठले भन्नुभयो, ‘प्रहरीलाई सूचना आएलगत्तै घटनास्थलमा पुगेर अनुसन्धन गर्दा बिकको शव भएको पुष्टि भएको हो ।’
सिरानचोक गाउँपालिकामा काम गर्दै आउनुभएका बिक असोज १९ गतेबाट बेपत्ता हुनुभएको थियो । बेपत्ता भएलगत्तै बिकको घर परिवारले स्थानीय र प्रहरीलाई खबर गरेपछि स्थानीय र प्रहरी भएर बिकलाई खोजी गरेका थिए ।
बुधबार शव भेटेपछि पोष्टमार्टम गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।