• १२ साउन २०८१, शनिबार

पर्यटकहरूको मन जित्दै लोदेन क्षेत्र (फोटो फिचर)

blog

पर्यटकीय सम्भावना बोकेको ताप्लेजुङस्थित रहेको पापुङको लोदेन क्षेत्र । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २३ गते । प्रकृतिको अनुपम उपहारको रूपमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेन क्षेत्र पर्यटकको रोजाइमा पर्दैगएको छ । पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेसँगै लोदेन क्षेत्रको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । 

लोदेन क्षेत्रको सुन्दर तथा मनोरम दृश्यले पर्यटकलाई लोभ्याउनेगरेको छ । यस क्षेत्रमा रहेको तालतलैया, हिमाल टाकुरा, सदाबहार पोखरीमा रमाइरहने पानी हाँस (चखेवा), कस्तुरी, मृग, डाँफे, मुनाललगायत वन्यजीव, याक चौँरी गोठसहित चरन क्षेत्र र घाँसे मैदान, विभिन्न वनस्पतिको प्रत्यक्ष दृश्यावलोकनले पर्यटकलाई मोहित बनाउनेगरेको छ । यिनै प्रकृतिको सुन्दरतासँग रमाउनेहरू लोदेन क्षेत्रको भ्रमणमा जान थालेका छन् ।

पापुङ निवासी मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले पछिल्लो केही वर्षयता लादेन क्षेत्रको भ्रमणमा जाने पर्यटकको सङ्ख्या वृद्धि हुँदैगएको बताउनुभयो । उहाँकाअनुसार पापुङको तोक्पेगोला हुँदै पर्यटक लोदेन क्षेत्र जाने गरेका छ । तोक्पेगोला क्षेत्र पनि पर्यटकीयस्थलकै रूपमा रहेको छ । त्यहाँ सीमान्तकृत ढोक्प्या जातिको बसोबास रहेकाले उहाँहरूको छुट्टै संस्कार संस्कृतिमा पर्यटक भुल्ने गर्छन् ।

ताक्पेगोला र लोदेन क्षेत्रको सुन्दर भूबनावटसँगै तोक्पेगोलाको सोदुपोखरी, भूत पोखरी, लोदेनको लामपोखरी, कुइने पोखरीलगायत दर्जनौँ पोखरी र तालहरूले पर्यटकलाई छुट्टै आनन्द दिलाउने गरेको पापुङका वडाध्यक्ष ग्यान्जे लामाले बताउनुभयो । त्यसैगरी वन्यजन्तुको दृश्यावलोकन र त्यहाँ रहेका याकचौंरी गोठहरूले पनि पर्यटकलाई आकर्षित गर्नेगरेको उहाँको भनाइ छ । 

कतिपय साहसी पर्यटकले लोदेन क्षेत्रमै रहेको ६ हजार मिटरभन्दा बढी उचाइ भएको लुम्बासुम्बा हिमालको आरोहणसमेत गर्ने गर्छन् । लोदेन क्षेत्रको भ्रमणका लागि सदरमुकाम फुङ्लिङ हुँदै फुङ्फुङगे झरना रहेको स्थान साँवाको तेम्बासम्म सवारी साधनमार्फत जान सकिन्छ । 

त्यहाँदेखि पदयात्रा गर्नुपर्छ । पदयात्रामार्फत पापुङ बस्ती, तोक्पेगोला हुँदै लोदेन क्षेत्र पुग्न सकिन्छ । आवासका लागि लोदेन क्षेत्रमा गोठस्टे (गोठबास) को सुविधा छ ।