• १५ मंसिर २०८१, शनिबार

मुख्य चोकमा ट्राफिक बत्ती

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, असोज २३ गते । पोखरा महानगरका मुख्य चोकमा यही वर्षभित्र ट्राफिक बत्ती बल्ने भएका छन् । मुख्य चोकमा हाइमास्ट बत्ती र बजार क्षेत्रमा स्मार्ट बत्ती राखिएको महानगरमा झन्डै दुई दशकपछि ट्राफिक बत्ती बल्न लागेका हुन् । 

सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले पोखराका पाँच चोकमा ट्राफिक जडान गरेको छ । शाखाकी इन्जिनियर सिना अवालले जडानको काम करिब सकिएको र मङ्सिरभित्रै ट्राफिक बत्ती बल्ने बताउनुहुन्छ । विभागले पृथ्वी चोक, सभागृह चोक, सिर्जना चोक, जिरो किमी र बिरौटा चोकमा बत्ती राखेको छ । विभागले एक करोड ७३ लाख रुपियाँ लागतमा बत्ती राखेको हो । पोखरा महानगरले आफ्नै लगानीमा थप पाँच स्थानमा ट्राफिक बत्ती राख्दै छ । महानगरको सडक सुरक्षा शाखाका इन्जिनियर ध्रुव भट्टराईले राष्ट्रबैङ्क चोक, रत्न चोक, हेम्जाको मिलन चोक, चिप्लेढुङ्गा र हल्लन चोकमा महानगरले बत्ती राख्न लागेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “यही वर्षभित्र सबै ट्राफिक बत्ती सञ्चालनमा आउने छन् । महानगरले पाँच ट्राफिक बत्तीका लागि दुई करोड रुपियाँ विनियोजन गरी अहिले टेन्डर प्रव्रिmयामा छ ।” 

२०५८ सालतिर पिक्यापले पोखरामा राखेका ट्राफिक बत्ती २०६२/६३ को आन्दोलनताका तोडफोड भएका थिए । केही चोकका बत्ती त्यसअघि नै बिग्रिएका थिए । ती बत्तीको सही व्यवस्थापन नहुँदा अहिलेसम्म ट्राफिकले हातको इसाराले काम गर्नुपर्ने अवस्था छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले बढ्दो सवारी चाप व्यवस्थापन र महानगरका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बत्ती राख्न लागिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आगामी जनवरीभित्र सबै ट्राफिक बत्ती सञ्चालनमा आउने छन् । ट्राफिक प्रहरी र महानगरको यातायात विभागले संयुक्त रूपमा व्यवस्थापनको जिम्मा लिन्छन् ।”

पोखराका केही चोकमा २०५८ सालमा ट्राफिक बत्ती राखिएका थिए । सभागृह, सिर्जना चोक, महेन्द्रपुल, चिप्लेढुङ्गा चोकमा ट्राफिक बत्ती थिए । तत्कालीन पोखरा उपमहानगरसँग पोखराको पार्किङको ठेक्का लिएको पिक्यापले ट्राफिक बत्ती राखेको थियो । पछि ती बत्तीमा प्रयोग हुने बिजुलीको बिलसमेत कसले तिर्ने भन्ने विवाद भएको थियो । पोखराको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।