• १५ मंसिर २०८१, शनिबार

चिनियाँ भूभागमा जान अनुमतिपत्र

blog

म्याग्दी समाचारदाता 

म्याग्दी, असोज २३ गते । माथिल्लो मुस्ताङका स्थानीयवासीलाई चिनियाँ भूभागमा जानका लागि अनुमतिपत्र वितरण गर्न लागिएको छ । चीनको भूभाग कोरला नाकामा आवतजावतमा सहज बनाउन अनुमतिपत्र (पास) वितरण गर्न लागिएको हो । 

मङ्गलबारदेखि जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुमतिपत्र वितरण सुरु गर्ने भएको छ। कोरोना महामारीका कारण चीनले चार वर्षअघि नाका पूर्ण रूपमा बन्द गरेको थियो । अनुमतिपत्र लिएर सीमा क्षेत्रका दुई गाउँपालिकाका स्थानीय कोरला नाका आवतजावत गर्न पाउने भएका छन् । लोमान्थाङ र लो–घेकरदामोदरकुण्ड गाउँपालिकाका स्थानीयवासीले मात्रै जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको अनुमतिपत्र लिएर चीनतर्फको ३० किलोमिटरसम्म जान पाउने व्यवस्था गर्न लागिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै चीन भ्रमणपछि चीनले सीमा क्षेत्रका बासिन्दाको सहजताका लागि अनुमतिपत्रका आधारमा आवतजावत गर्न दिने निर्णय गरेको छ । यो व्यवस्था अनुसार चिनियाँ पनि नेपालतर्फ ३० किलोमिटर आउन पाउने भएका छन् । अनुमतिपत्र वितरणका लागि जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि नायब सुब्बास्तरका दुई कर्मचारीलाई लोमान्थाङ इलाका प्रशासन कार्यालयमा खटाएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुमतिपत्र छपाइ सकिएको छ । मङ्गलबारदेखि सीमा क्षेत्रका स्थानीलाई अनुमतिपत्र वितरण गर्दर्छौं ।” उहाँका अनुसार अनुमतिपत्र एक वर्षका लागि जारी हुने छ । त्यसपछि अवस्था हेरेर नवीकरण गर्ने सकिने छ । 

चीनले सीमा क्षेत्रका बासिन्दालाई अनुमतिपत्र दिने निर्णयले माथिल्लो मुस्ताङवासीलाई राहत मिल्ने लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो माग त कोरला नाका खुला होस् भन्ने थियो । नाका खुला नभए पनि अनुमतिपत्रका आधारमा ३० किलोमिटर परसम्म पुगेर व्यावसायिक कारोबार गर्न पाउने भएकाले सीमा क्षेत्रका बासिन्दालाई सहज हुने आशा गरेका छौँ ।” 

अनुमतिपत्र लागि स्थानीयवासीले सम्बन्धित वडा कार्यालबाट बसोबास प्रमाणितसहितको पास उपलब्ध गराइदिन सिफारिसपत्र, सक्कल नागरिकता र नागरिकताको फोटोकपी, दुईप्रति हालसालै खिचेको फोटो र यसअघि लिएको पास भए सक्कल पास कार्डसहितको विवरण बुझाउनुपर्ने छ । 

कोराला नाकामा आयोजना हुने अन्तरदेशीय व्यापार मेला विगत चार वर्षदेखि रोकिएको छ। कोरोना महामारीका कारण चिनियाँ पक्षले मेला रोकेको थियो । मेला आयोजना नहुँदा माथिल्लो मुस्ताङवासीको जनजीवन प्रभावित भएको छ । नाका खुला नहुँदासम्मका लागि अनुमतिपत्रको व्यवस्थाले सीमा क्षेत्रका सर्वसाधारणलाई व्यावसायिक कारोबारका लागि सहज हुने अपेक्षा गरिएको छ ।