• १३ साउन २०८१, आइतबार

किसानले पाएनन् दुधको भुक्तानी

blog

शशिधर पराजुली

विराटनगर, असोज २३ गते । दुध बेचेर गुजारा चलाउँदै आएका हजारौंँ किसान नजिकिँदै गरेको बडादसैँ टार्ने चिन्ताले पिरोलिन थालेका छन् । आफूले दुध बिक्री गरेको सहकारीले महिनौँदेखि दुधको भुक्तानी नदिएपछि किसानलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको हो ।

“नेपालीको मुख्य चाड दसैँ नजिकै आइसक्यो तर दुग्ध विकास संस्थानलाई दुध बेचेका सहकारीका सदस्य किसानले लामो समयदेखि भुक्तानी पाएका छैनौँ,” इलामस्थित कन्याम चिलिङ सेन्टरका व्यवस्थापक रविन निरौलाले भन्नुभयो, “अब कसरी दसैँ मनाउने भनेर सबै चिन्तामा छन् ।”  

दुग्ध विकास संस्थानको विराटनगरमा रहेको दुग्ध वितरण आयोजनाले इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दुध सङ्कलन गर्दै आएको छ । सयौँ सहकारी तथा सङ्कलन केन्द्रसँग डिडिसीले असारयता खरिद गरेको दुधको भुक्तानी दिएको छैन । डिडिसीको विराटनगर आयोजनालाई दुध बेचेर करिब आठ हजार किसानले जेठ महिनापछिको भुक्तानी पाएका छैनन् । जसले गर्दा किसानलाई नजिकिँदै गरेको चाडपर्व कसरी मनाउने भन्ने चिन्ता सुरु भएको छ । किसानले दसैँअगाडि नै रकम भुक्तानी गर्न सहकारी र सङ्कलन केन्द्रमा दैनिक ताकेता गरिरहेका छन् तर डिडिसीले भुक्तानी नदिएका कारण सहकारीहरू निरीह छन् । 

विराटनगरस्थित दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले करिब आठ हजार किसानले उत्पादन गरेको दुध खरिद गर्दै आएको बताउनुभयो । “ठ्याक्कै किसानको सङ्ख्या त हामीलाई थाहा हुँदैन किन भने हामी सहकारी र सङ्कलन केन्द्रबाट दुध किन्छौँ तर पनि मोटामोटी सात-आठ हजार किसानबाट ती सहकारी र सङ्कलन केन्द्रले दुध सङ्कलन गर्छन्,” उहाँले भन्नुभयो ।

डिडिसीले जेठ महिनासम्म किसानसँग खरिद गरेको दुधको भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको असार महिना र चालु आर्थिक वर्षको साउन, भदौ र असोज तेस्रो साता गरी झन्डै चार महिनाको रकम भुक्तानी गरेको छैन । भदौ महिनासम्मको करिब ११ करोड रुपियाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुयभो, “विराटनगर आयोजनाको मात्र होइन संस्थानका सबै आयोजनामा यस्तै अनुपातमा बक्यौता छ, हामी किसानलाई सकेसम्म दसैँअगाडि नै भुक्तानी दिन पहल गरिरहेका छौँ ।”

गत वर्षको पुस महिनासम्म डिडिसीलाई दुध बेच्दै आएको इलामको कन्याम चिलिङ सेन्टर अहिले बन्द भएको छ । डिडिसीले समयमा दुधको भुक्तानी नगरेका कारण धराशायी बनेको उक्त सेन्टरले डिडिसीलाई दुध बेच्न छोड्यो । डिडिसीले परिपत्र गरेर गत वर्ष पाँच सय लिटरभन्दा बढी दुध उपलब्ध गराउने सम्झौता गरेका सहकारी र सेन्टरहरूलाई दिने भनेको प्रतिलिटर थप तीन रुपियाँ र कमिसन (पिएस) बापतको करिब सात लाख रुपियाँ भुक्तानी गरेन । चिलिङ सेन्टरले डिडिसीको परिपत्र अनुसार सहकारीलाई रकम उपलब्ध गराए पनि आफूले भुक्तानी पाउन नसकी संस्था घाटामा गएर बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यवस्थापक निरौलाले बताउनुभयो । उहाँका अनुसार इलामका सहकारीलाई मात्र दुधबाहेक यस प्रकृतिको करिब दुई करोड रुपियाँ डिडिसीले भुक्तानी गर्न बाँकी छ । अन्य जिल्लाका सहकारीहरूले पनि यस्तो भुक्तानी नपाएको उहाँले बताउनुभयो ।

दुधको भुक्तानी अनियमित भएपछि किसानले डिडिसीसँग सम्झौता गरेका सहकारी र सङ्कलन केन्द्रहरूलाई दुध उपलब्ध गराउन छोडे । त्यसै कारण इलाममा सञ्चालित छ वटा चिलिङ सेन्टर यसै वर्ष बन्द हुन पुगेका छन् । इलाममा अहिले तीन वटा सेन्टरले थोरै परिमाण डिडिसीलाई दुध उपलब्ध गराइरहेको छ तर त्यो पनि बन्द गर्ने अवस्थामा पुगिसकेको किसानहरू बताउँछन् । इलामबाहेक डिडिसीसँग सम्झौता गरेका अन्य जिल्लाका सहकारीको पनि यस्तै अवस्था छ । 

लामो समयदेखि दुधको भुक्तानी नपाएका किसान जसरी पनि दसैँमा पैसा चाहियो भन्दै सहकारीलाई दबाब दिइरहेका छन् । सहकारीहरू लाखौंँ रुपियाँ भुक्तानी गर्न सक्ने अवस्थामा छैनन् । धनकुटाका स्थानीय किसान एकराज प्रधान भन्नुहुन्छ, “दुध उत्पादन गर्न नियमित लगानी गर्नुपर्छ, गाईभैँसीलाई चाहिने दाना, औषधी आदि किन्न दैनिक लगानी आवश्यक पर्छ । तर, चार÷पाँच महिनादेखि दुध बेचेको पैसा नपाएपछि किसानले कसरी थेग्न सक्छन् ?”

किसानहरूले डिडिसीलाई दुध बेच्न छोडेर निजी डेरीलाई दुध दिन थालेका छन् । निजी डेरीहरूले भदौ १५ गतेसम्मको भुक्तानी दिइसकेको छ । दसैँअघि असोज १५ सम्मको भुक्तानी गर्ने आश्वासन निजी डेरीले दिएका छन् । पछिल्लो समय निजी डेरीले पनि घिउ बिक्री नभएको र बढी भएको दुधबाट पाउडर (धुलो दुध) बनाएर राख्नु पर्दा चालु पुँजी अभाव भएको खबर गाउँमा पठाइरहेका छन् । जसबाट निजी डेरीलाई दुध बेच्दै आएका किसानहरू पनि दसैँमा रकम पाउने नपाउने भन्ने संशयमा छन् । 

पछिल्लो समय डिडिसीलाई किसानले दुध बिक्री नगर्ने अवस्था आउनुमा निजी डेरी सञ्चालकहरू पनि जिम्मेवार रहेको कन्याम चिसेका व्यवस्थापक निरौला बताउनुहुन्छ । “बजारमा अस्वस्थ प्रतिस्पर्धा गरी पहिले डिडिसीभन्दा बढी मूल्य दिएर किसानसँग दुध किने, अहिले डिडिसी धराशायी हुनपुग्यो भने निजी डेरीहरू पनि किसानको दुध किन्न र समयमा भुक्तानी दिन नसक्ने अवस्थामा पुगेका छन्, हेरौँ कति दिन थेग्न सक्छन्,” उहाँले भन्नुभयो, “अस्वस्थ प्रतिस्पर्धाको चपेटामा दुध सङ्कलक सहकारी तथा किसान सबै परेका छौँ ।”