• १८ वैशाख २०८१, मङ्गलबार

इजरायलमा जारी द्वन्द्वप्रति एमालेको ध्यानाकर्षण

नागरिकलाई तत्काल स्वदेश फिर्ता ल्याउन माग

blog

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दल कार्यालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असोज २२ गते । 
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले इजरायलमा हालै भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीको उद्धार र घाइतेको उपचारको व्यवस्था गर्न माग गरेको छ ।

इजरायलमा भएको आक्रमणमा परी १० जना नेपालीको निधन भएको, केही घाइते भएको र केही सम्पर्कविहीन भएको घटनाप्रति एमाले संसदीय दलले दुःख व्यक्त गरेको हो ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सोमबार विज्ञप्ति जारी गर्दै विदेशमा रहेर अध्ययन तथा श्रम गरिरहेका नेपाली नागरिकमाथि आइपरेको यस विषम् परिस्थितिको गम्भीरतालाई बुझ्न र तत्काल उद्धारका लागि पहल गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ ।

एमालेले संसदीय दलले मृतकहरूको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवम् घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न र गराउन प्रदेश सरकारमार्फत नेपाल सरकारलाई अनुरोध गरेको छ ।

यसैगरी, रोजगारी, अध्ययन एवम् अन्य सिलसिलामा इजरायल गएका नागरिकहरूलाई तत्काल स्वदेश फिर्ता ल्याउनसमेत एमाले संसदीय दलका नेता थपलियाले माग गर्नुभएको छ ।

हिंसात्मक आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीप्रति एमाले बागमती प्रदेश संसदीय दलले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

साथै इजरायलमा सम्पर्कविहीन रहेकाहरुको खोजी र त्यहाँ रहेका सबै नेपालीको आवश्यक सुरक्षाको प्रबन्ध गरी फर्काउने व्यवस्था गर्नसमेत एमाले संसदीय दलले विज्ञप्तिमार्फत नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।