• २२ वैशाख २०८१, शनिबार

पालिकास्तरीय भलिबल प्रतियोगिता हुँदै

blog

रमेश विश्वकर्मा

गुल्मी, असोज २१ गते । गुल्मीको तम्घासमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । जिल्ला भलिबल सङ्घको आयोजनामा प्रथम पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता हुनेभएको पत्रकार सम्मेलनमार्फत महासचिव नारायण आचार्यले जानकारी दिनुभयो । 

महासचिव आचार्यका अनुसार आगामी कात्तिक १५ गतेदेखि १८ गतेसम्म प्रथम गुल्मी भलिबल कप २०८० आयोजना गरिनेछ । जिल्लामा भलिबल खेलमा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि यो प्रतियोगिता आयोजना गरिने उहाँले बताउनुभयो ।  

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ७७ हजार ७७७ रुपियाँ, द्वितीय हुनेले ५५ हजार ५५५ रुपियाँ, तृतीय हुनेले ३३ हजार ३३३ रुपियाँ र सान्त्वना हुनेले ११ हजार १११ रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । 

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ३५ हजार रुपियाँ, द्वितीय हुनेले २५ हजार रुपियाँ, तृतीय हुनेले १५ हजार रुपियाँ र सान्त्वनाले हुने नगद १० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ । 

प्रतियोगितामा राष्ट्रियस्तरमा खेल खेलेका खेलाडी सहभागी हुन नपाउने सङ्घले जनाइएको छ । चार दिनसम्म तम्घासमा चल्ने प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहका खेलाडी सहभागी हुने बताइएको छ ।