• १३ असोज २०८१, आइतबार

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा (फोटो फिचर)

blog

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि थापाथलीमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल बिक्री कक्षको उदघाटन गर्नुहुँदै उद्योग वाणिाज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल । तस्बिर : सुजन गुरुङ

काठमाडौं, असोज २१ गते । सरकारले दसैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित आइतबारदेखि काठमाडौँ उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशभरका चाडपर्व लक्षित सहुलियत पसलको औपचारिक उद्घाटन गर्नुभएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट मन्त्री रिजालले सहुलियत पसलको उद्घाटन गर्नुभयो । सरकारले हरेक वर्ष देशभरका विभिन्न क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियत पसलहरू सञ्चालन गर्छ ।


जसअनुसार यो वर्ष पनि सरकारले उपभोक्ताको सहजताका लागि काठमाडौँ उपत्यका र बाहिर गरी ४९ बिक्री स्थल राखेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मुलुक भरका ४३ जिल्लाका ४९ स्थानहरूबाट आजदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको बताउनुभयो ।

उहाँले सहुलियत पसलमा खाद्य वस्तुहरूका चामलमा प्रतिकेजी सात र खाने तेल लगायतका वस्तुहरूमा पनि सात रुपियाँ छुट दिएको बताउनुभयो । उहाँले कर्णालीका उत्पादन गेडागुडी, खसी बोका र भेडा च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँका दरले छुट दिएको जानकारी दिनुभयो ।  उहाँले लोककल्याणकारी राज्य होस् भनेर सरकारले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरेको १० वर्ष भएको बताउनुभयो । उहाँले सरकारले खाद्य वस्तुहरूको उपलब्धता सहज रूपमा बनाएको बताउनुभयो । उहाँले घुम्ती पसल पनि सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।


काठमाडौँ उपत्यका भन्दा बाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र महेन्द्रनगर खाद्य व्यवस्थाले सहुलियत पसल राखेको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपियाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट पाइनेछ । सुपथ मूल्य पसल आगामी मङ्सिर ३ गतेसम्म सञ्चालन हुनेछन् ।