• २२ वैशाख २०८१, शनिबार

पाँच वटा एसियाड रिपोर्टिङ गर्ने राजवंशीलाई सम्मान

blog

हाङझाउ, असोज २१ गते । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) ले खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई सम्मान गरेको छ ।

एआइपीएस एसियाले पाँच वटा र सोभन्दा बढी पटक एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाभरीका पत्रकारहरुलाई कदर गर्ने क्रममा नेपालबाट राजवंशी सम्मानित हुनुभएको हो । 

हाङझाउको मेन प्रेस सेन्टरमा आयोजित कार्यक्रममा ओलम्पिक च्याम्पियन तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीका सदस्य सियोङ मिन रियु, एआइपीएस एसियाका अध्यक्ष हि डोङ जोङ र उपाध्यक्ष मुबारक अल बोनिनले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

एआइपीएसले अन्तर्राष्ट्रिय रुपमा लामो समय रिपोर्टिङ गर्ने पत्रकारहरुलाई सम्मान गर्ने परम्पराको शुरु गरेपछि एआइपीएस एसियाले यो वर्षको एसियाली खेलकुदबाट सम्मानको अभियान थालेको हो । जसमा यो वर्ष ६९ जना पत्रकार सम्मानित भए । 

राजवंशीले सन् १९९८ को बैंकक, सन् २००२ को बुसान, सन् २०१० को ग्वान्जाउ, सन् २०१४ को इन्चोन तथा हान्झाउ एसियाडमा रिपोर्टिङ गर्नुभएको थियो । सम्मानित हुनेहरुमा सबैभन्दा वढी १० पटक एसियाडमा भाग लिएका चीनका वेई सेङ हुनुहुन्छ ।

कार्यक्रममा एआइपीएस एसियाका अध्यक्ष हि डोङ जोङ अब एसियाडको हरेक संस्करणमा धैर्यपूर्वक लामो समय योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान नियमित रुपमा गर्ने बताउनुनुभयो ।