बोदेबरसाइन समाचारदाता
बोदेबरसाइन (सप्तरी), असोज २१ गते । बाढीमा पुल भासिँदा राजस्व सङ्कलनमा असर परेको छ । राजविराज भन्सार कार्यालयनजिक रहेको जिताहा खोलाको पुल भासिएर तीन महिनादेखि आवागमन बन्द भएपछि सरकारी राजस्व सङ्कलनमा असर परेको हो ।
मूल बाटोमा रहेको पुल नै भासिएपछि सेवाग्राही अन्य बाटो भएर आवतजावत गर्ने गर्दछन् । जसका कारण भन्सार कार्यालयको राजस्व सङ्कलनको लक्ष्यमा असर परेको राजविराज भन्सार कार्यालयका प्रमुख सत्यनारायण सिंहले बताउनुभयो । राजविराज नाका ठुलो र पुरानो भन्सार हो तर यहाँ खाद्य, पशु क्वारेन्टाइनलगायत कुनै प्रकारको साधन स्रोत छैन । मालवाहक गाडीसमेत नै आउँदैन ।
ठुला गाडी कतैबाट आइहाले पनि क्वारेन्टाइन जाँचका लागि जलेश्वर पठाउनुपर्ने हुन्छ । क्वारेन्टाइन जाँचको प्रतिवेदन ढिला आउने र सेवाग्राहीले अनावश्यक सास्ती खेप्नुपर्ने अवस्थाका कारण राजस्व कम उठ्ने गरेको उहाँले बताउनुभयो ।
कुल छ करोड ५० लाख ३४ हजार वार्षिक लक्ष्य रहेको यस भन्सारले २० प्रतिशत मात्र अर्थात् एक करोड ३३ लाख आठ हजार ९७३ रुपियाँ राजस्व सङ्कलन गरेको छ । यो रकमको आधा हिस्सा मालवस्तुबाट सङ्कलित राजस्व नभई अन्यत्र कार्यालयमार्फत जानुपर्ने भारतीय फिल्म पास गरेबापतको मूल्य अभिवृद्धि कर (भ्याट) को रकम आएको हो । यो नाकाबाट भन्सार तिरेर मालवस्तु सहज पास हुने वातावरण नभएसम्म राजस्व लक्ष्य भेट्याउन मुस्किल हुने उहाँले बताउनुभयो ।
पुल भत्केको विषयमा स्थानीय बासिन्दाले समेत सम्बन्धित सरोकारवाला निकाय र सांसद तथा मन्त्रीसमक्ष राखे पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । जसले गर्दा स्थानीय बासिन्दालाई सीमा वारिपारि गर्न कठिनाइ उत्पन्न हुने गरेको छ ।