• ४ जेठ २०८१, शुक्रबार

महानगरले बसपार्क व्यवस्थित गर्दै

blog

कास्की समाचारदाता 

कास्की, असोज २१ गते । लामो समयदेखि अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्मे हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्कभित्र रहेका यातायात व्यवसायीका काउन्टर तथा ग्यारेज र अटो पार्ट्सका पसल हटाइएका छन् । 

बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । महानगरको यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सिनाले बसपार्कलाई तत्काल अल्पकालीन र विस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको बताउनुभयो । उहाँले बताउनुभयो, “पोखरा बसपार्क तत्काल व्यवस्थापनको विकल्प छैन । यसलाई विस्तारै व्यवस्थापन गर्दै अतिव्रmमित बसपार्कको पूरै जमिनमा बसपार्क बनाउनु पर्दछ । बसपार्कको समस्या निकै लामो समयदेखिको समस्या भएको छ ।’’ यसको व्यवस्थापनमा कैयौँ चुनौती रहेको भए पनि महानगरपालिका यस कार्यका निरन्तर लागिरहेको तिमिल्सिनाले बताउनुभयो । 

नगर प्रमुख धनराज आचार्यका अनुसार पर्यटन राजधानीका रूपमा घोषणा हुने अन्तिम तयारीमा रहेको पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माण गरिने छ । बसपार्कको जमिनमा बसिरहेका वास्तविक भूमिहीनको उचित व्यवस्थापन गरी बसपार्कका लागि छुट्याइएको अधिकतम जमिनमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो । पोखरा सातै प्रदेशको यातायात सञ्जालसँग जोडिएको छ । पोखराबाट साना तथा ठुला गरी दैनिक हजारौँ सवारीसाधान देशभरिका लागि छुट्ने गर्दछन् ।